
रामेछापको मन्थली–खिम्ती सडक भासिएपछि बुधबार बिहानैदेखि सवारी आवत–जावत पूर्णरूपमा अवरुद्ध भएको छ ।
लिखु तामाकोशी गाउँपालिका–७ तिल्पुङस्थित हल्देबजार नजिक करिब २० मिटर सडक भासिँदा ठूला सवारी साधन सञ्चालन रोकिएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । प्रहरी निरीक्षक कौशल न्यौपानेका अनुसार अहिले मोटरसाइकल र अटो मात्र आवत–जावत गर्न सक्ने अवस्था रहेको छ भने सडक मर्मत कार्य सुरु भइसकेको छ ।
‘सडक मर्मत भइरहेको छ, केही घण्टामै यातायात सञ्चालनमा आउने अपेक्षा गरिएको छ,’ न्यौपानेले बताए ।
गतवर्ष पनि सोही स्थानमा लेदो पसेर सडक बिग्रिएपछि जालीसहितको वाल उठाएर मर्मत गरिएको थियो । तर यस वर्ष तामाकोशी नदीले कटान गर्दा सडक भासिएको हो ।
यो सडक रामेछापका विभिन्न गाउँपालिका र सदरमुकाम मन्थलीलाई मात्र नभई दोलखा हुँदै राजधानीतर्फ जान चाहने यात्रुहरूको लागि पनि प्रमुख मार्ग भएकाले अहिले सयौँ यात्रु बीचमै रोकिएका छन् ।