
नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले सुमिरे टुर एन्ड ट्राभल्सले विगत १० वर्षदेखि जापानमा भिजिट भिसाको नाममा हजारौँ नेपालीबाट अर्बौँ रुपैयाँ असुलेको आरोप लगाएका छन्। उनले यसबारे निष्पक्ष छानबिन हुनुपर्ने माग गरेका छन्।
प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद खतिवडाले केही व्यक्तिहरूले संसद् र राजनीतिक पार्टीलाई प्रयोग गरेर यस्तो ठगी धन्दा चलाएको गम्भीर आरोप लगाए। ‘सुमिरे टुर एन्ड ट्राभल्स भन्ने कुन कम्पनी हो? त्यो कम्पनीले विगत १० वर्षदेखि जापान भिजिट भिसाको नाममा हजारौँ मान्छे पठाएको र अर्बौं रकम उठाएको छ,’ खतिवडाले भने।
उनका अनुसार त्यही रकम प्रयोग गरेर केही व्यक्तिहरू संसद्मा पुगेका छन्, पार्टीको टिकट लिएका छन् र संसद् किनेर आएका छन्। ‘उनीहरूले संसद् नै प्रयोग गरेर भ्रममा पार्ने, उफ्रिने, नाराबाजी गर्नेजस्ता गतिविधि गरिरहेका छन्,’ उनले आरोप लगाए।
खतिवडाले यस्तो व्यवहार रोक्न र दोषीमाथि कारबाही गर्न निष्पक्ष छानबिनको माग गरेका छन्। ‘संसद्मा अरू माननीयले बोल्न थालेपछि नारा लगाउने प्रवृत्ति बढेको छ। यस्तो प्रवृत्तिको अन्त्य हुनु पर्छ,’ उनले भने।
उनले थपे, ‘यो विषय गम्भीर छ, र सरकार तथा सम्बन्धित निकायले तुरुन्तै छानबिन सुरु गर्नुपर्छ। आम नागरिकको भरोसा संरक्षण गर्न यस्ता ठगी गर्नेहरूमाथि कडा कारबाही हुनुपर्छ।’