
जल तथा मौसम विज्ञान विभागले आज देशभर आंशिकदेखि साधारणतया बदली हुने जानकारी दिएको छ। विभागका अनुसार, देशका पहाडी क्षेत्रका थोरै स्थानहरूमा तथा बाँकी भागका केही स्थानहरूमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
विशेषगरी कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा आज दिनभर भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ। यस्तो अवस्थामा ती प्रदेशहरूमा सतर्कता अपनाउन विभागको आग्रह छ।
त्यस्तै, उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा आज हल्कादेखि मध्यम वर्षा र हिमपातको पनि सम्भावना रहेको छ।
आज राति पनि देशभर आंशिकदेखि सामान्य बदली रहने र कतिपय ठाउँमा वर्षा जारी रहने विभागले जनाएको छ। पहाडी भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना यथावत् रहेको छ।
विशेषतः सडक तथा हवाई यातायात प्रभावित हुने सम्भावना रहेकाले सावधानी अपनाउन विभागले सर्वसाधारण, यात्री र पर्यटकहरूलाई अनुरोध गरेको छ।