Join our Channel

टेक्सासमा बाढीको कहर : ७८ जनाको मृत्यु, ४१ बेपत्ता

टेक्सासमा बाढीको कहर : ७८ जनाको मृत्यु, ४१ बेपत्ता
Getty Images

अमेरिकाको टेक्सास राज्यमा आएको भीषण बाढीमा परी अहिलेसम्म ७८ जनाको मृत्यु भइसकेको छ भने ४१ जना अझै बेपत्ता रहेका छन्।

सबैभन्दा बढी क्षति केर काउन्टीमा भएको जनाइएको छ। यहाँ मात्र ३८ जना बालबालिकासहित ६८ जनाले ज्यान गुमाएका छन्। अहिले पनि उद्धार तथा राहत कार्य तीव्र गतिमा जारी रहेको अधिकारीहरूले जनाएका छन्।

उनीहरूका अनुसार बाढीबाट केर काउन्टीको नदी किनारामा रहेको ‘क्याम्प मिस्टिक’ क्षेत्र सबैभन्दा बढी प्रभावित भएको छ। यहाँ १० जना किशोरी र एक जना काउन्सलर अझै बेपत्ता छन्। उद्धार टोलीको खोज अभियान त्यही क्षेत्रमा केन्द्रित गरिएको छ।

हालसम्म उद्धार टोलीले २८ जना मृतकको शव फेला पारेका छन्, जसमा १० जना बालबालिका रहेका छन्। तर उनीहरूको पहिचान भने खुलाइएको छैन।

टेक्सास राज्यका गभर्नर ग्रेग अबोटले बेपत्ता नागरिकको उद्धारमा कुनै कसर बाँकी नराख्ने बताएका छन्। त्यस्तै, मौसम विभागले आगामी २४ देखि ४८ घण्टाभित्र फेरि ठूलो आँधी आउने सम्भावना रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ।

सुरक्षाकर्मी र उद्धार टोलीले बाढी प्रभावित क्षेत्रमा उद्धार प्रयास अझै तीव्र पारेका छन्। स्थानीय अधिकारीहरूका अनुसार, मृतक संख्या अझै बढ्न सक्ने सम्भावना उच्च रहेको छ।

Leave a comment