Join our Channel

कांग्रेसमा आन्तरिक विवाद चर्कियो, देउवा नेतृत्वमा दबाब

कांग्रेसमा आन्तरिक विवाद चर्कियो, देउवा नेतृत्वमा दबाब

नेपाली कांग्रेसभित्र आन्तरिक विवाद चर्किएको छ। भदौ तेस्रो साता जेनजी पुस्ताको दुई दिने विद्रोहपछि पार्टीभित्र पुरानो नेतृत्वलाई चुनौती दिने प्रयास तीव्र भएको हो।

विशेष महाधिवेशन बनाम नियमित महाधिवेशन

महामन्त्री गगनकुमार थापाविश्वप्रकाश शर्माले सभापति शेरबहादुर देउवाको विकल्प खोज्दै विशेष महाधिवेशनको प्रस्ताव अघि सारेका छन्। उनीहरूले भदौ २३–२४ पछि बदलिएको राजनीतिक परिवेश अनुसार पार्टीलाई नयाँ नेतृत्वसहित फागुन २१ को निर्वाचनमा लैजान विशेष महाधिवेशन आवश्यक भएको तर्क गरेका छन्।

तर, पार्टीका अन्य वरिष्ठ नेताहरू भने नियमित महाधिवेशन नै उचित भएकोमा जोड दिएका छन्। प्रदेश सभापति र केन्द्रीय सदस्यहरूले विज्ञप्ति जारी गर्दै विशेष महाधिवेशनको भ्रममा नपर्न कार्यकर्तालाई सचेत गराएका छन्।

“विशेष महाधिवेशनको कुरा उठाएर पार्टीलाई कमजोर र विभाजनतर्फ लैजान खोजिएको छ। अहिले पार्टीभित्र सुदृढ एकता आवश्यक छ,” – विज्ञप्तिमा उल्लेख।

हस्ताक्षर अभियान र राजनीतिक चाल

विशेष महाधिवेशनको मागका लागि गुरुराज घिमिरे, देवराज चालिसे, जनकराज गिरीसहितका नेताहरूले हस्ताक्षर अभियान सुरु गरेका छन्। तर, देउवा निकट नेताहरूले यस अभियानको विपक्षमा उभिएर पार्टी एकता र स्थायित्वको पक्षमा जोड दिएका छन्।

यदि ४० प्रतिशत महाधिवेशन प्रतिनिधिले हस्ताक्षरसहित विशेष महाधिवेशनको माग गरे, केन्द्रीय समितिले तीन महिनाभित्र अधिवेशन बोलाउनुपर्ने हुन्छ। तर, स्रोतहरूले यो सम्भावना धेरै कम रहेको बताए।

शेखर कोइराला र गगन थापाबीच छलफल

कांग्रेस नेता शेखर कोइराला र महामन्त्री गगनकुमार थापाबीच पार्टीको रणनीति र आगामी दिनका कदमबारे छलफल भएको छ। स्रोतका अनुसार, निर्वाचनअघि पार्टीको नेतृत्व परिवर्तन विषयमा सकारात्मक कुराकानी भएको छ।

कोइराला नियमित महाधिवेशन मार्फत नयाँ नेतृत्वसहित फागुन २१ को निर्वाचनमा जाने पक्षमा छन् भने थापा विशेष महाधिवेशनको पक्षमा छन्।

Leave a comment