
नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले पार्टीको आगामी महाधिवेशन २०८३ सालको मङ्सिरमै सम्पन्न हुनुपर्ने बताएका छन्।
शनिबार राजधानीमा आयोजित पत्रकार भेटघाटमा बोल्दै कोइरालाले पार्टीभित्रका जिम्मेवार पदाधिकारीहरूले अझै महाधिवेशनप्रति आवश्यक तत्परता नदेखाएको टिप्पणी गरे। यसले कार्यकर्तामा मिति सारिने हो कि भन्ने चिन्ता थपिएको उनले बताए।
उनले भने, “म अहिले महामन्त्री गगनकुमार थापासँग सहकार्यमै छु। पार्टी सभापतिसहित सबै नेताहरूलाई एकतामा ल्याएर अघि बढाउने नेतृत्व म गर्न सक्षम छु।”
फरक प्रसङ्गमा कोइरालाले संसद् अवरुद्ध भइरहेकाले सरकार र प्रतिपक्षीय दलबीच आपसी छलफल आवश्यक भएको बताए। उनले भने, “माओवादीलाई मात्र होइन, रास्वपा र राप्रपालाई पनि सहमति प्रक्रियामा ल्याउनु जरूरी छ।”
रास्वपा र राप्रपाले गृहमन्त्रीको राजीनामाभन्दा पनि पूर्वप्रधानन्यायाधीशको नेतृत्वमा छानबिन समिति गठन होस् भन्ने चाहना राखेको आफूले बुझ्ने बताए।