Join our Channel

धानमै आत्मनिर्भरता: असार १५ मा कृषिमन्त्रीको ठोस प्रतिबद्धता सार्वजनिक

धानमै आत्मनिर्भरता: असार १५ मा कृषिमन्त्रीको ठोस प्रतिबद्धता सार्वजनिक

‘धान बालीमा सघनता, खाद्य सुरक्षा र आत्मनिर्भरता’ भन्ने नारासहित मनाइएको २२औँ राष्ट्रिय धान दिवस को अवसरमा कृषि तथा पशुपक्षी विकासमन्त्री रामनाथ अधिकारीले सरकार किसानको हितमा प्रतिबद्ध रहेको बताएका छन्।

खुमलटारस्थित राष्ट्रिय बाली विज्ञान अनुसन्धान केन्द्रमा आयोजित रोपाइँ महोत्सवमा मन्त्री अधिकारीले “असारमा हिलोमा टेक्नुपर्ने परम्परा हाम्रो पहिचान हो, आत्मनिर्भरता अबको लक्ष्य हो” भन्दै स्रोत साधनको सीमितताबीच पनि किसानलाई समर्पित नीति र कार्यक्रम ल्याउने बताए।

उनले भने,

“दुई वर्षभित्र नेपाललाई धानमा आत्मनिर्भर बनाउने लक्ष्य छ, सरकार केवल प्रतिबद्धता जनाउने होइन, कार्यान्वयनमै केन्द्रित हुनेछ।”
उनले उत्पादन योग्य जमिनलाई आवासीय क्षेत्रमा रूपान्तरण हुन नदिने नीति अवलम्बन गरिने समेत बताए।

यसै अवसरमा कृषि समितिकी सभापति कुसुम थापाले किसानलाई आत्मनिर्भर बनाउने नीति बनाउन संसद्मा निरन्तर छलफल हुने जानकारी दिइन्।

सचिव दीपककुमार खरालले धान उत्पादन, खपत र निर्यातमा योगदान बढाउँदै आयात घटाउनेतर्फ लाग्नुपर्ने धारणा राखे। जलवायु परिवर्तनको असर कम गर्दै विभिन्न प्रजातिका धान विकास गर्नुपर्ने नार्कका कार्यकारी निर्देशक कृष्णप्रसाद तिम्सिनाले बताए।

सन् २०३० सम्म नेपाललाई धानमा आत्मनिर्भर बनाउने दीर्घकालीन योजना रहेको उनले जानकारी दिए।

यस वर्ष राष्ट्रिय उत्कृष्ट किसान पुरस्कार प्राप्त गरेका दयाराम मरामचीले किसानमैत्री कार्यक्रम र नीति आवश्यक रहेको बताए।

रोपाइँ संस्कृतिको सम्मानस्वरूप २०६१ सालदेखि मनाउन थालिएको असार १५ मा धान उत्पादन र कृषकको योगदान स्मरण गर्दै कार्यक्रम आयोजना हुँदै आएको छ।

नेपालमा कुल धान खेती क्षेत्रफलमध्ये मात्र ७% क्षेत्रमा चैते धान खेती गरिन्छ। यस्तै सम्भाव्य सिञ्चित क्षेत्रमा क्षेत्र विस्तार गर्न सकिए धान उत्पादन बढाउँदै खाद्य आत्मनिर्भरता सम्भव रहेको अधिकारीहरूको भनाइ छ।

Leave a comment