Join our Channel

कांग्रेस नेताहरूको साझा आवाज : मंसिरमै नियमित महाधिवेशन गर्नुपर्ने माग बलियो

कांग्रेस नेताहरूको साझा आवाज : मंसिरमै नियमित महाधिवेशन गर्नुपर्ने माग बलियो

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पुनः बस्दैछ। मंगलबारदेखि सुरु भएको बैठक आज बिहान ११ बजे पार्टी कार्यालय सानेपामा बस्ने तय भएको हो। पार्टी सभापति शेरबहादुर देउवाले कार्यवाहक सभापतिको जिम्मेवारी पूर्णबहादुर खड्कालाई दिएपछि बैठकहरू निरन्तर रूपमा चलिरहेका छन्।

बैठकमा बोल्ने अधिकांश केन्द्रीय सदस्यहरूले मंसिरमै नियमित महाधिवेशन गर्ने तयारीमा लाग्नुपर्ने धारणा राखेका छन्। बैठकले सभापति देउवामाथि ‘जेन–जी’ आन्दोलनका क्रममा भएको आक्रमणप्रति निन्दा गर्दै पार्टीलाई बलियो बनाउने दिशामा अघि बढ्नुपर्ने निष्कर्ष निकालेको छ।

पार्टी प्रवक्ता डा. प्रकाशशरण महतका अनुसार, नेताहरूले सरकारले आगामी निर्वाचन सहज बनाउने वातावरण निर्माण गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरे। उनका अनुसार, नागरिकले सुरक्षा महसुस गर्न नसकेको र सुरक्षा निकायको मनोबल कमजोर भएको अवस्था चुनावका लागि चुनौतीपूर्ण रहेको नेताहरूको धारणा थियो।

कार्यवाहक सभापति पूर्णबहादुर खड्काले बैठकको सुरुवातमै समसामयिक राजनीतिका विषयमा धारणा राख्दै पार्टीको नियमित महाधिवेशनबाटै सबै विवाद समाधान गर्न सकिने बताए। उनले विशेष महाधिवेशनका लागि हस्ताक्षर आएको भए पनि त्यसको अध्ययनपछि प्रक्रिया अघि बढाउने बताएका छन्।

महामन्त्री गगनकुमार थापाले पनि बैठकमा मंसिरमै अधिवेशन गर्नुपर्ने प्रस्ताव दर्ता गराएका छन्। उनले जेन–जी आन्दोलन, पार्टीभित्रका अनुशासन र सदस्यता सम्बन्धी विषयहरू पनि छलफलमा उठाएका थिए।

बैठकमा नेता डा. शेखर कोइरालाले भने, “अन्य राजनीतिक दलहरूले मंसिरमा अधिवेशन गर्ने तयारी गरिरहेका छन् भने कांग्रेसले पनि सोही समयमा १५औं महाधिवेशन गर्नुपर्छ।” उनले नियमित अधिवेशनबाट मात्र पार्टीमा ताजापन, एकता र ऊर्जा आउन सक्ने बताए।

कोइरालाले थपे, “महाधिवेशनबाट आउने परिणामले आगामी निर्वाचनका लागि कांग्रेसलाई जनतामाझ पुनः सशक्त बनाउनेछ।” उनले पार्टीभित्र अनुशासन समितिबाट कारबाही सिफारिस भएका नेताहरूलाई क्षमादान गर्नुपर्ने माग पनि राखे।

नेता अर्जुननरसिंह केसीले जेन–जी आन्दोलनका क्रममा भदौ २३ र २४ गते भएका घटनाको गहिरो छानबिन हुनुपर्नेमा जोड दिए। उनले भने, “यदि नियमित महाधिवेशन गर्न नसक्ने हो भने विशेष महाधिवेशन गर्नैपर्छ।”

केन्द्रीय सदस्य रामहरि खतिवडाले सरकारले कानुनको दुरुपयोग गरेर शासन गरिरहेको भन्दै आलोचना गरे। उनका अनुसार, अबको राजनीतिक यात्रा जेन–जी आन्दोलनका मागहरू सम्बोधन गर्दै अघि बढ्न जरुरी छ।

बैठकमा अधिकांश नेताहरूले मंसिरभित्रै महाधिवेशन गर्नुपर्नेमा सहमति जनाएका छन्। प्रवक्ता महतका अनुसार, “महाधिवेशन नियमित रूपमा समयमै हुन्छ, बाँकी निष्कर्ष आजको बैठकले तय गर्नेछ।”

Leave a comment