
धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सञ्चालनमा रहेको फार्मेसीमा ५० लाख रुपैयाँभन्दा बढीको औषधि घोटाला भएको खुलासा भएको छ। प्रतिष्ठानले खरिद गरेको करिब ५ करोड ५० हजार रुपैयाँ बराबरको औषधिमध्ये ५० लाख रुपैयाँ बराबरको औषधि हिनामिना भएको प्रमाण फेला परेपछि ठूलो आर्थिक अनियमितता बाहिर आएको हो।
प्रारम्भिक अनुसन्धानमा प्रतिष्ठानका निर्देशक डा. जगतनारायण प्रसाद, तत्कालीन डेपुटी निर्देशक डा. लोकेश जैसवाल, फार्मेसी इन्चार्ज लक्ष्मण महर्जन र कर्मचारी विवेक दाहालको मिलेमतोमा घोटाला गरिएको निष्कर्षमा पुगेको प्रतिष्ठानले जनाएको छ। यस घोटालामा कर्मचारी आपूर्ति गर्ने केटीएम सेक्युरिटी प्रालिको संलग्नता पनि देखिएको छ।
प्रतिष्ठानका रजिस्ट्रार सूर्यप्रसाद संग्रौलाले फार्मेसीमा करिब ५० लाख रुपैयाँ बराबरको औषधि हराएको पुष्टि गर्दै सम्बन्धित कर्मचारीलाई निलम्बन गरी छानबिन सुरु गर्ने तयारी भएको बताए। उनले भने, “दोषीलाई कारबाही र पारदर्शिता कायम गर्न विशेष छानबिन समिति गठन हुँदैछ।”
प्रतिष्ठानका अस्पताल डेपुटी निर्देशक डा. इन्द्र लिम्बूका अनुसार फार्मेसीमा ३६ लाख रुपैयाँको औषधि फेला परेन, ४ लाख रुपैयाँको बिक्री हिसाब गडबडी र १४ लाख रुपैयाँभन्दा बढीको औषधि म्याद सकिएको अवस्थामा भेटिएको छ। उनले भने, “हिसाब–किताब जाँच्दा औषधि हराएको, रकम बेठीक र म्याद सकिएका औषधि भेटिएको पुष्टि भएको छ।”
घोटालाको विषय बाहिरिएपछि प्रतिष्ठानले तत्काल फार्मेसी बन्द गरेको छ। यसका कारण हजारौं बिरामी समस्यामा परेका छन्, जसले अब बाहिरी मेडिकलबाट औषधि महँगो दरमा खरिद गर्न बाध्य भएका छन्।
धरान–१५ का ज्ञानेन्द्र बस्नेतले भने, “बीपीको फार्मेसीमा सस्तोमा औषधि पाइन्थ्यो, अहिले बाहिर महँगोमा किन्नु परेको छ।” धरान–१३ का रवि राईले भने, “घोटालामा जोसुकै भए पनि कारबाही गर्नुपर्छ, बिरामीको हितमा फार्मेसी तुरुन्त खोल्नुपर्छ।”
फार्मेसी बन्द हुँदा स्वास्थ्य बिमा योजनाअन्तर्गतका बिरामीले पाउने निःशुल्क औषधि सेवा पनि ठप्प भएको छ। बिरामी सीता विष्टले भनिन्, “फार्मेसी बन्द भएपछि स्वास्थ्य बिमाको फाइदा पाउन सकेनौं, अहिले बाहिरी मेडिकलमा पैसा तिरेर औषधि किन्नुपरेको छ।”
निर्देशक डा. जगतनारायण प्रसादले आफू घोटालामा संलग्न नभएको दाबी गर्दै भने, “म आफैंले नै अनुसन्धान सुरु गरेको हुँ, पारदर्शी ढंगले छानबिन हुनेछ।”
फार्मेसी इन्चार्ज लक्ष्मण महर्जन, विवेक दाहाल र डा. लोकेश जैसवालले भने यो विषयमा कुनै प्रतिक्रिया दिएका छैनन्।
बीपी प्रतिष्ठानका उपकुलपति प्रा. डा. विक्रमप्रसाद श्रेष्ठले बिरामी समस्यामा नपरोस् भनेर अस्थायी औषधि वितरणको व्यवस्था गरिँदैछ र फार्मेसी छिट्टै पुनः सञ्चालनमा ल्याइने बताएका छन्।
बीपी प्रतिष्ठानभित्र देखिएको यो घटना पछिल्ला वर्षहरूकै सबैभन्दा ठूलो आर्थिक अनियमितता मानिएको छ। स्थानीयवासी र बिरामीहरूबीच प्रतिष्ठानमा पारदर्शिता र जवाफदेहिता कायम गर्न दबाब बढ्दै गएको छ।