
रौतहटको दुर्गाभगवती गाउँपालिकाका पूर्वअध्यक्ष अरुण साहसहित नापी विभागका कर्मचारीहरूमाथि ठगी अभियोगमा पक्राउ पुर्जी जारी भएको छ। जग्गा कारोबारको नाममा ठगी गरेको आरोपमा पीडितको जाहेरीपछि इलाका प्रहरी कार्यालय गरुडाले जिल्ला अदालत रौतहटबाट पक्राउ अनुमति लिएको हो।
साथै, काठमाडौंको डिल्लीबजारस्थित नापी कार्यालयअन्तर्गत टोखा टोली प्रमुख सञ्जय साह, नागार्जुन-४ का विमलादेवी श्रेष्ठ र उनका छोरा धिरज श्रेष्ठविरुद्ध पनि अदालतबाट पक्राउ अनुमति लिइएको इलाका प्रहरी कार्यालय गरुडाका डिएसपी राजन कार्कीले जानकारी दिए।
जग्गा कारोबारमा १ करोड १० लाख ठगी आरोप
गरुडा नगरपालिका–६ पोठियाही निवासी सन्तोषकुमार चौधरीले दिएको जाहेरीअनुसार, टोखा नापी प्रमुख सञ्जय साह, बिमला श्रेष्ठ र धिरज श्रेष्ठले मिलेमतोमा जग्गा बिक्रीको बहानामा १ करोड १० लाख रुपैयाँ ठगी गरेका छन्।
डिएसपी कार्कीका अनुसार, “पीडितले जग्गा बैना गरेर खरिद प्रक्रिया अघि बढाएका थिए। तर बदनियत देखिएकाले अनुसन्धान अघि बढाइएको छ।”
नापी प्रमुख साहलाई पक्रन गरुडा प्रहरीले काठमाडौं प्रहरी परिसरमा पत्राचार गरेको र उनी हाल असार १५ सम्म बिदामा रहेको डिल्लीबजार नापी कार्यालयका निमित्त प्रमुख प्रकाश ओलीले जानकारी दिएका छन्।
पूर्वअध्यक्षले १० लाख लिएको, साँवा र ब्याजसमेत १ करोड ४० लाख फिर्ता दिने आश्वासन
सन्तोष चौधरीका अनुसार, आफू ठगिएपछि नापी प्रमुख साहबाट साँवा र ब्याजसहित १ करोड ४० लाख फिर्ता दिलाइदिने भन्दै दुर्गाभगवतीका पूर्वअध्यक्ष अरुण साहले १० लाख रुपैयाँ लिएका थिए। यही आधारमा उनीविरुद्ध पनि जाहेरी दिइएपछि पक्राउ पुर्जी जारी भएको हो।
सन्तोषले सर्लाहीको हरिपुर नगरपालिका–७ मा रहेको कित्ता नम्बर ७७३ को ११ कठ्ठा १४ धुर जग्गा संयुक्त लगानीमा खरिद गर्ने सहमति भएको बताए। तर पछि नापी प्रमुख साहले उक्त जग्गा चार कित्तामा विभाजन गरी अन्य चार व्यक्तिलाई बेचिदिएको उनको आरोप छ।
‘म न्याय खोज्दै प्रहरी धाइरहेको छु’
सन्तोष भन्छन्, “मैले जग्गा किन्ने सम्झौताअनुसार १ करोड २५ लाखसम्म खर्च गरें। प्रमुख साहले मेरो नाममा नदिई आफूले नाम पास गराएर अर्कालाई बेचिदिए। अहिले म प्रहरी कार्यालयमा न्याय माग्दै हिँडिरहेको छु।”
प्रहरीका अनुसार जग्गाधनी बिमला श्रेष्ठको मृत्यु भइसकेको पुष्टि भएपछि उनका छोरा धिरजलाई पक्राउ गरिएको थियो र हाजिर जमानीमा छाडिएको हो।
सन्तोषले भनेका छन् कि जग्गा किन्ने क्रममा उनले बिमला श्रेष्ठ र उनका छोरालाई पटकपटक गरेर १ करोड ४ लाख रुपैयाँ बुझाएका थिए। उनले माटो भर्ने लगायत अन्य खर्च पनि आफूले व्यहोरेको दाबी गरेका छन्।