
पोखरा महानगरपालिका–२५ हेम्जास्थित फेदीमा शनिबार दिउँसो एक विद्युतीय माइक्रो बस दुर्घटना हुँदा ६ जना यात्रु घाइते भएका छन्।
भूपी शेरचन राजमार्गमा पोखराबाट पर्वततर्फ जाँदै गरेको ग १ ज ८६९१ नम्बरको माइक्रो बस अनियन्त्रित भई दुर्घटना भएको कास्की जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।
घाइते हुनेहरूमा माइक्रो चालक ३४ वर्षीय कुशलरत्न परियार (पोखरा–१७, घारीपाटन), २७ वर्षीय दिपेश परियार, २७ वर्षीया रितिका परियार, ४ वर्षीय रेगन परियार, १ वर्षीय रियान्त परियार (सभी अन्नपूर्ण गाउँपालिका–१, नौडाँडा निवासी) र ३७ वर्षीय हर्क विक (जलजला गाउँपालिका–४, मल्लाज, पर्वत) रहेका छन्।
ट्राफिक प्रहरीका अनुसार घाइतेहरूको टाउको, हात, खुट्टा र अनुहारमा चोट लागेको छ। उनीहरूलाई तत्काल उद्धार गरी पोखराको मणिपाल शिक्षण अस्पताल र गण्डकी मेडिकल कलेजमा उपचारका लागि पठाइएको थियो।
जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका प्रमुख इन्स्पेक्टर शोभा पाण्डेयका अनुसार सबै घाइतेहरूको अवस्था खतरामुक्त रहेको छ।