Join our Channel

नेपालीमा ‘संक्षिप्त महाभारत’ सार्वजनिक: अब सजिलो भाषामा पढ्न सकिने!

नेपालीमा ‘संक्षिप्त महाभारत’ सार्वजनिक: अब सजिलो भाषामा पढ्न सकिने!

महाभारतजस्तो गहिरो र ऐतिहासिक धार्मिक ग्रन्थ अब नेपाली पाठकहरूका लागि अझै सहज बनाइएको छ। प्राचीन हिन्दू धर्म ग्रन्थ महाभारतको नेपाली अनुवाद ‘संक्षिप्त महाभारत’ को सार्वजनिक लोकार्पण कार्यक्रम काठमाडौंको बागबजारमा सम्पन्न भएको छ।

यस कार्यक्रममा आख्यानकार भुवनहरि सिग्देल, समीक्षक राजकुमार बानियाँ, विश्लेषक शंकर तिवारी, आख्यानकार शैलेन्द्र अधिकारी र कवि हेम प्रभासलगायतका स्रष्टाहरूको सहभागिता रहेको थियो। कार्यक्रमले नेपाली साहित्य क्षेत्रका लागि नयाँ कोशेढुङ्गाको संकेत गरेको छ।

महर्षि वेदव्यासले रचना गरेको एक लाख श्लोकको महाकाव्य महाभारतलाई गद्यशैलीमा नेपालीमा अनुवाद गरिएको छ। मूल कथा अनुसार महाभारत वेदव्यासले बोलेर भगवान् श्रीगणेशले लेखेको विश्वास गरिन्छ। रोचक कुरा त के छ भने, महाभारतका पात्रमध्ये व्यास स्वयम् पनि छन्।

चार भागमा प्रकाशित यस संक्षिप्त महाभारत लाई रोशन दाहालले कथात्मक ढाँचामा नेपालीमा अनुवाद गरेका हुन्। पुस्तकका प्रकाशक पुष्पराज पौडेलका अनुसार यो संस्करण विशेष गरी गहिरो धार्मिक साहित्य पढ्न चाहने तर संस्कृत श्लोकको अर्थ बुझ्न अप्ठ्यारो मान्ने पाठकका लागि उपयोगी हुनेछ।

प्रकाशक शिखा बुक्सले तयार पारेको यो पुस्तक अहिले बजारमा उपलब्ध भएको छ, जसले नयाँ पुस्तालाई धर्म, दर्शन र जीवनबोधको गहिरो सन्देश सजिलो भाषामा बुझ्न सहयोग पुर्याउने विश्वास लिइएको छ।

Leave a comment