Join our Channel

लोकसेवा आयोगमा जनविश्वास अझ बलियो, निष्पक्षता कायम गर्न आयोगको भूमिका महत्वपूर्ण : प्रधानमन्त्री ओली

लोकसेवा आयोगमा जनविश्वास अझ बलियो, निष्पक्षता कायम गर्न आयोगको भूमिका महत्वपूर्ण : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले लोकसेवा आयोगप्रति जनताको गहिरो विश्वास रहेको बताएका छन्। उनले आयोगले निष्पक्षता, योग्यता र स्वच्छतामार्फत राष्ट्रसेवामा योग्य जनशक्ति उत्पादन गर्न महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको बताए।

आज राजधानीमा आयोजित लोकसेवा आयोगको हिरक जयन्ती समारोहमा प्रधानमन्त्री ओलीले आयोगको भूमिकाको खुलेर प्रशंसा गरे। उनले भने, “आयोगले समयसापेक्ष सुधार गर्दै प्रविधिमैत्री प्रणालीमार्फत योग्य कर्मचारी छनोट गरिरहेको कुरा खुशीको विषय हो। जनशक्ति छनोटमा आयोगले निष्पक्षता कायम राखेर जनविश्वास अझ प्रबल बनाएको छ।”

प्रधानमन्त्री ओलीले आयोगलाई अझ प्रभावकारी बनाउन सरकारले आवश्यक सहजीकरण गर्न सधैं तत्पर रहेको पनि बताए। उनले आयोगको वार्षिक प्रतिवेदनमा गरिएका सिफारिस कार्यान्वयन गर्न सम्बन्धित निकायलाई गम्भीरता देखाउन आग्रह गरे।

कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल प्रमुख अतिथिको रूपमा सहभागी थिए। उनले आयोगले नेपालको प्रशासनिक संरचनामा गुणस्तरीय जनशक्ति भर्ना गर्न पुर्‍याएको योगदानलाई महत्त्वपूर्ण बताउँदै निरन्तर सुधार र पारदर्शिता कायम राख्नुपर्नेमा जोड दिए।

प्रधानमन्त्री ओलीले थपे, “योग्यता, निष्पक्षता र स्वच्छता कायम गर्दै आयोगले युवा पुस्तामा आशा र भरोसा सिर्जना गरिरहेको छ। राष्ट्रसेवामा सबैलाई प्रेरित गर्न आयोगले निरन्तर भूमिका खेल्नेछ भन्नेमा म विश्वस्त छु।”

लोकसेवा आयोग स्थापना भएको ७५ वर्ष पुगेको अवसरमा आयोजना गरिएको समारोहमा पूर्व पदाधिकारी, विज्ञ र कर्मचारीसमेतको उल्लेख्य उपस्थिति रहेको थियो।

Leave a comment