Join our Channel

सप्तकोसीमा मोटरेबल बोट सञ्चालन, धार्मिक पर्यटन र स्थानीय आवागमनमा सहजता

सप्तकोसीमा मोटरेबल बोट सञ्चालन, धार्मिक पर्यटन र स्थानीय आवागमनमा सहजता

सुनसरीको बराहक्षेत्र नगरपालिका–१ स्थित प्रसिद्ध बराहक्षेत्र मन्दिरदेखि भोजपुरको हतुवागढी–९ को कोप्चेसम्म मोटरेबल बोट सेवा सुरु भएको छ। यससँगै धार्मिक पर्यटन, स्थानीय आवागमन र कृषकका उत्पादनको बिक्री–वितरणमा सहजता आएको छ।

सप्तकोसी नदीको तीव्र प्रवाहका कारण लामो समयसम्म जोखिमपूर्ण मानिँदै आएको बराहक्षेत्र–कोप्चे खण्डमा ‘मकालु मोटरबोट’ सञ्चालनमा आएको हो। सुनसरी र भोजपुर दुवै प्रशासनको अनुमति प्राप्त यो सेवा स्थानीय बासिन्दाका लागि नयाँ यात्रा विकल्प बनेको छ।

सुनसरीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रका अनुसार, सप्तकोसीको अनुगमनपछि कानुनी वा भौतिक अवरोध नदेखिएपछि अनुमति दिइएको हो।

बराहक्षेत्रदेखि कोप्चेसम्म करिब ६ किलोमिटर दूरी तय गर्न ५०० रुपैयाँ भाडा तोकिएको छ। स्थानीयहरूले यसले समय र खर्च दुवै घटाएको बताएका छन्। हतुवागढीका देबहाङ राईले बोट चढेर छोटो समयमा धरान–इटहरी पुग्न थालेको र कृषकका फलफूल तथा तरकारी सजिलै बजारमा लगेर बिक्री गर्न सहज भएको बताए।

बोट सञ्चालनसँगै बराहक्षेत्रमा आन्तरिक र बाह्य पर्यटकको चाप बढेको छ। श्रद्धालुहरूले पूजा, स्नानसँगै मोटरबोटमार्फत कोसीको सौन्दर्य अवलोकन गर्न थालेका छन्। संचालक अनिस थापाले त्रिसुले घाघीको तीव्र प्रवाहका कारण नयाँ सुरक्षित मार्ग चयन गरी बोट संचालनमा ल्याइएको बताए।

ईलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रमुख प्रहरी निरीक्षक दिवश कुँवरले यात्रु सुरक्षामा उच्च सतर्कता अपनाउन प्रत्येक यात्रुलाई लाइफ ज्याकेट अनिवार्य लगाएर मात्र बोट चलाउन निर्देशन दिएका छन्।

स्थानीय नवराज बिष्टका अनुसार, मोटरबोट सञ्चालनले धार्मिक पर्यटन र स्थानीय अर्थतन्त्र दुवैमा गति थपेको छ। स्थानीय होटल, पसल र गेष्टहाउसमा चहलपहल बढेको छ र बराहक्षेत्र दर्शन गर्न आउने भक्तजनका लागि सप्तकोसी पार गर्न सहज भएको छ।

अब भोजपुर, उदयपुर र धनकुटाका कोशी किनारका बासिन्दाले पनि यातायातको विकल्पको रूपमा यस सेवाको प्रयोग गर्न थालेका छन्।

Leave a comment