Join our Channel

पाँचौँ पटक अख्तियारमा बयान दिन पुगे सहसचिव भट्टराई – भिजिट भिसा दुरुपयोग प्रकरणमा नयाँ मोड

पाँचौँ पटक अख्तियारमा बयान दिन पुगे सहसचिव भट्टराई – भिजिट भिसा दुरुपयोग प्रकरणमा नयाँ मोड

भिजिट भिसाको नाममा भइरहेको मानव तस्करी र त्यसमा उच्च सरकारी अधिकारीको संलग्नताको आशंकासँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका पूर्व प्रमुख अध्यागमन अधिकृत तथा सहसचिव तीर्थराज भट्टराई पाँचौँ पटक अख्तियार दुरुपयोग अनुसन्धान आयोग (अख्तियार) मा बयान दिन पुगेका छन्।

शनिबार बिहान टंगालस्थित अख्तियार कार्यालयमा भट्टराई उपस्थित भएका हुन्। गृह मन्त्रालयमा सरुवा भइसकेको केही समयपछि उनलाई बयानका लागि बोलाइएको हो।

यो प्रकरणमा गृहमन्त्री रमेश लेखक, गृह सचिव गोकर्णमणी दवाडी र प्रशासन महाशाखा प्रमुख छवि रिजालसमेतको नाम जोडिएको छ। राजनीतिक तहमा समेत चासोको विषय बनेको यो घटनामा प्रमुख प्रतिपक्षी दलहरूले संसदसमेत अवरुद्ध गरेका थिए।

बयान र अनुसन्धानको विवरण

जेठ ७ गते भट्टराईलाई अख्तियारको टोलीले नियन्त्रणमा लिएर सोधपुछ गरेको थियो। त्यसको अघिल्लो दिन, जेठ ६ गते, गृह मन्त्रालयले उनलाई सरुवा गरेको थियो।
पहिलो चरणमा सामान्य बयान दिएका भट्टराईले जेठ ८ गते पनि अख्तियारमा उपस्थिति जनाई फरेन्सिक रिपोर्टको आधारमा थप स्पष्टीकरण दिएका थिए। त्यो समय उनलाई करिब १५ मिनेटसम्म मात्र राखिएको थियो।

संसदमा विपक्षीको दबाब कायमै

भिजिट भिसा दुरुपयोगमार्फत मानव तस्करी भइरहेको आशंका गर्दै प्रमुख प्रतिपक्षी दलहरूले जेठ १३ देखि संसद अवरोध गरेका थिए। यद्यपि, नेकपा माओवादी केन्द्रले दुई बुँदे सहमति गर्दै संसदको अवरोध हटाए पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संसदीय छानबिन समिति गठनको माग गर्दै विरोध कायमै राखेको छ।
रास्वपाले यो प्रकरणलाई ‘सङ्गठित अपराध’ भनी व्याख्या गर्दै संघीय संसदका सबै प्रतिपक्षी दलहरूलाई साझा आवाज उठाउन आह्वानसमेत गरेको छ।

Leave a comment