Join our Channel

तरबुजा बेचेर १२ लाख कमाउने दुई युवाको कथा : बाँझो जमिनबाट हरियाली भविष्यतर्फ

तरबुजा बेचेर १२ लाख कमाउने दुई युवाको कथा : बाँझो जमिनबाट हरियाली भविष्यतर्फ

दाङको घोराहीमा दुई युवाले तरबुजा खेतीबाट लाखौं आम्दानी गर्दै उदाहरणीय सफलता हासिल गरेका छन्। रोल्पा माडी गाउँपालिका–१ जबाङ दुदिलाबोटका २७ वर्षीय वीरेन्द्र खड्का र परिवर्तन गाउँपालिका–५ का ३१ वर्षीय वीरेन्द्र वलीले व्यावसायिक तरबुजा खेतीबाट गत वर्ष मात्रै १२ लाख रुपैयाँको कारोबार गरेका छन्।

घोराही उपमहानगरपालिका–७ घुस्रामा बबई नदी किनारमा रहेको बालुवायुक्त बगरमा उनीहरूले साढे चार बिघा जमिन तीन महिनाको लागि ८० हजार रुपैयाँमा भाडामा लिएर खेती सुरु गरेका हुन्। बाँझो रहेको बगर अहिले हरियाली तरबुजाको खेतमा परिणत भएको छ।

वीरेन्द्र खड्का कृषि विषयका विद्यार्थी हुन्। उनले सात वर्षअघि ‘दाङ एग्रोमार्ट कृषि फार्म’ स्थापना गरी पुष्प व्यवसायबाट व्यवसायिक यात्रा थालेका थिए। पछिल्लो दुई वर्षदेखि भने तरबुजालाई प्राथमिकता दिँदै व्यावसायिक रूपमा खेती सुरु गरेका छन्।

अर्का किसान वीरेन्द्र वलीका अनुसार उनीहरू अहिले ‘आहाना’, ‘सरस्वती’, ‘विशाला’ जातका तरबुजा प्रतिकिलो ५० रुपैयाँमा र ‘आरोही’ जातको ७० रुपैयाँ प्रतिकिलोमा बिक्री गर्दै आएका छन्। हाल दैनिक करिब एक हजार किलो बिक्री भइरहेको छ भने हालसम्म आधाभन्दा बढी उत्पादन बिक्री भइसकेको छ।

“यो वर्ष अहिलेसम्म पाँच लाख रुपैयाँको कारोबार भइसकेको छ”, वलीले बताए। “जैविक विधिबाट कम विषादी प्रयोग गरी उत्पादन गर्ने भएकाले ग्राहकको पनि आकर्षण बढिरहेको छ”, उनले थपे।

तर, बजारमा बाहिरी देशबाट सस्तोमा तरबुजा भित्रिँदा स्थानीय उत्पादन प्रतिस्पर्धामा पर्नु पर्ने अवस्था आएको वलीको गुनासो छ। सरकारले विदेशी तरबुजामा नियन्त्रण गरे स्थानीय उत्पादन प्रवर्द्धन हुने विश्वास उनीहरूको छ।

तरबुजा किन्न आएका घोराही–१४ का अर्जुन केसी भन्छन्, “गर्मी मौसममा ताजा र स्वस्थ तरबुजा खान मन लाग्छ। यहीं उत्पादित भएकाले नियमित लान्छु।” उनले अरू नागरिकलाई पनि आफ्नै ठाउँमा उत्पादित वस्तु किनमेल गर्न आग्रह गरे।

यसरी बाँझो जमिन उपयोग गरी उत्पादन, स्वरोजगार र आत्मनिर्भर बन्न सकिने स्पष्ट सन्देश यी युवाले दिएका छन्। देशमै अवसर खोज्ने हो भने परदेश जानु नपर्ने सन्देश उनीहरूको सफलताको कथा बोकेको छ।

Leave a comment