
सल्यान जिल्लाको कपुरकोट गाउँपालिका–३ स्थित चोरखोला देखि राम्री सडक खण्डमा स्तरवृद्धि तथा कालोपत्रे कार्यलाई तीव्रता दिन राप्ती राजमार्ग दैनिक ६ घन्टा बन्द गरिने भएको छ।
सडक डिभिजन कार्यालय दाङ र जिल्ला प्रशासन कार्यालय सल्यानले संयुक्तरूपमा सूचना जारी गर्दै, २०८१ असार १ गते आइतबारदेखि आठ दिनसम्म हरेक दिन बिहान ११ बजेदेखि बेलुकी ५ बजेसम्म सडक बन्द गरिने जनाएका छन्।
सडक डिभिजन कार्यालयका अनुसार चोरखोला–राम्री खण्डमा ४ किलोमिटर लामो सडकको स्तरवृद्धि कार्य लामो समयदेखि प्रभावित हुँदै आएको थियो। नियमित सवारी साधनको आवागमनले निर्माण कार्य समयमा सम्पन्न हुन नसक्दा यात्रुहरूले वर्षभर सास्ती खेप्नुपरेको थियो। यही समस्यालाई समाधान गर्न दैनिक ६ घन्टा सडक बन्द गर्ने निर्णय गरिएको डिभिजन प्रमुख दीपेन्द्रबहादुर विष्टले जानकारी दिए।
उनका अनुसार सडक कालोपत्रे गर्न आवश्यक ग्रेभल कार्य सकिएको छ भने अबको केही दिनको बन्दले निर्माण कार्यलाई सहज बनाउने विश्वास लिएको छ। विगतमा पनि वर्षा सुरु हुनु अघि विभिन्न चरणमा सडक बन्द गरेर काम भइरहेको उनले बताए।
वैकल्पिक मार्गको व्यवस्था र सावधानी
साना तथा अत्यावश्यक सवारी साधनका लागि पैयाखोरिया–सातावास–किमचौर–कपुरकोट वैकल्पिक मार्गको प्रयोग गर्न सकिने जानकारी गराइएको छ। तर यो मार्ग साँघुरो र जोखिमयुक्त भएकाले दुई दिनसम्म मर्मत कार्य गरि सञ्चालन योग्य बनाइएको छ।
ठूला सवारी साधनहरू भने वैकल्पिक मार्ग प्रयोग गर्न नसक्ने भएकाले तोकिएको समयसम्म प्रतीक्षा गर्नु पर्ने डिभिजन प्रमुख विष्टले बताएका छन्।
प्रशासनको भूमिका
सल्यानका प्रमुख जिल्ला अधिकारी साबित्रा पुनका अनुसार, सडक डिभिजन कार्यालयले २३ गतेदेखि नै राजमार्ग बन्द गर्ने प्रस्ताव गरे पनि वैकल्पिक मार्ग मर्मत नगरेको कारण अनुमति दिइएको थिएन। मर्मतपछि मात्रै दैनिक ६ घन्टा आठ दिनसम्म राजमार्ग बन्द गर्न स्वीकृति दिइएको उनले स्पष्ट पारिन्।
यस्तो अवस्थामा यात्रु र स्थानीय बासिन्दाहरूले तोकिएको समयलाई ध्यानमा राखी यात्रा योजना बनाउन सुझाव दिइएको छ।