
अमेरिका सरकारद्वारा अध्यागमन नियम उल्लंघन गरेको आरोपमा निष्कासन गरिएका झन्डै ५० जना नेपाली नागरिक आज विशेष चार्टर्ड विमानमार्फत काठमाडौं फर्किंदैछन्।
परराष्ट्र मन्त्रालय स्रोतका अनुसार, डिपोर्ट गरिएका नेपालीहरू आज दिउँसो ४ बजेतिर बंगलादेशको ढाका हुँदै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, काठमाडौंमा अवतरण गर्नेछन्। अमेरिकी चार्टर्ड जहाजले नेपालीहरूलाई काठमाडौंमा झारेपछि भारतको नयाँ दिल्लीतर्फ फर्किने नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ।
काठमाडौंस्थित अमेरिकी दूतावासले केही दिनअघि परराष्ट्र मन्त्रालयलाई अमेरिका निष्कासनको प्रक्रिया अघि बढाइएको जानकारी गराएको थियो।
ट्रम्पको आप्रवासन नीतिले डिपोर्टको संख्या बढ्यो
अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको कडा आप्रवासन नीतिपछि अवैध रूपमा बसोबास गरिरहेका नेपाली नागरिकहरू डिपोर्टमा पर्न थालेका हुन्। पछिल्लो समय अमेरिकाको अध्यागमन सुरक्षा निकायले गैरकानुनी रूपमा बसोबास गरिरहेका नेपालीहरूलाई प्राथमिकताका साथ पहिचान गरी फिर्ता पठाउने प्रक्रिया तीव्र बनाएको छ।
यसअघि अमेरिकी सरकारले सानो संख्यामा मात्र (८/१० जनासम्म) नेपालीहरूलाई विभिन्न विमानमार्फत फिर्ता पठाउँदै आएको थियो। तर, यो पटक भने एकै पटक लगभग ५० जनालाई डिपोर्ट गर्दै ठूलो संख्यामा नेपाल फर्काइँदैछ। दुई साताअघि मात्र ९ जना नेपालीलाई डिपोर्ट गरिएको थियो।
निष्कासित नेपालीको संख्या १५० नाघ्यो
परराष्ट्र मन्त्रालय स्रोतका अनुसार, ट्रम्प राष्ट्रपति बनेयता हालसम्म करिब १५० जना नेपालीलाई अमेरिका सरकारले डिपोर्ट गरिसकेको छ। अमेरिकी दूतावासले डिपोर्ट गरिएका व्यक्तिहरूको विवरण अध्यागमन विभागलाई बुझाउने र विमानस्थलमा उनीहरूलाई नेपाल प्रहरीको जिम्मा लगाउने व्यवस्था गरिएको छ।
ट्रम्पद्वारा १२ देशका नागरिकलाई अमेरिका यात्रा पूर्ण प्रतिबन्ध
ट्रम्प प्रशासनले सुरक्षा चासोलाई कारण देखाउँदै अफगानिस्तान, चाड, कंगो, इक्वेटोरियल गिनी, इरिट्रिया, हैटी, इरान, लिबिया, म्यानमार, सोमालिया, सुडान र यमनका नागरिकहरूलाई अमेरिका यात्रामा पूर्ण प्रतिबन्ध लगाएको छ।
यस्तै, बुरुन्डी, क्युबा, लाओस, सियरा लियोन, टोगो, तुर्कमेनिस्तान र भेनेजुएलाका नागरिकहरूलाई कडा प्रतिबन्धसहित अमेरिका प्रवेशमा रोक लगाइएको छ। ट्रम्पले भनेका छन्, “हामीलाई हानि पुर्याउन चाहनेहरूलाई देशमा प्रवेश गर्न दिन्नौं।”