
अमेरिकी कानुन उल्लंघनको आरोपमा निष्कासन (डिपोर्ट)मा परेका ३२ पुरुष र ५ महिला नेपाली नागरिक आइतबार मध्यरातमा काठमाडौं आइपुगेका छन्। उनीहरूलाई अमेरिकी सरकारले ओम्नी एयर इन्टरनेसनलको चार्टर्ड विमानमार्फत फिर्ता पठाएको हो। विमानको कल–साइन N-486AX रहेको छ।
उक्त चार्टर्ड विमानमार्फत अमेरिका सरकारले भारत र बंगलादेशका केही नागरिकलाई पनि स्वदेश फिर्ता पठाएको छ।
पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकालपछि अमेरिकाबाट निष्कासनमा पर्ने नेपालीको संख्या बढ्दै गएको छ। पछिल्लो तथ्यांकअनुसार, आइतबारसम्म कुल १७७ जना नेपालीलाई अमेरिका सरकारद्वारा डिपोर्ट गरिएको छ।
मानव तस्करीको आशंका, प्रहरीको अनुसन्धान सुरु
डिपोर्ट भएर फर्किएका नेपालीसँग प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोले सोधपुछ सुरु गर्ने तयारी गरेको छ। ब्युरोले यसअघि पनि अमेरिका लगायत अन्य देशबाट फिर्ता आएका नेपालीहरूसँग सोधपुछ गरिसकेको छ।
प्रहरीका अनुसार, उनीहरू कसरी अमेरिका पुगे, डिपोर्टको कारण के थियो, र यसमा कुनै संगठित मानव तस्करीको संलग्नता छ कि भन्नेबारे अनुसन्धान भइरहेको छ। मानव तस्करीको शृंखलामा संलग्न दलालहरूको खोजी गर्ने उद्देश्यले ब्युरोले विस्तृत सूचना संकलन गर्न थालेको हो।