Join our Channel

राइड सेयरिङ नियमावली एक महिनामा लागू हुँदै, तयारीमा गण्डकी प्रदेश सरकार

राइड सेयरिङ नियमावली एक महिनामा लागू हुँदै, तयारीमा गण्डकी प्रदेश सरकार

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले ‘राइड सेयरिङ’ सम्बन्धी नियमावली एक महिनापछि कार्यान्वयन प्रक्रियामा प्रवेश गर्ने बताएका छन्।

सोमबार पोखरामा आयोजित गण्डकी प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उद्घाटन समारोहमा सहभागी भएका मुख्यमन्त्री पाण्डेले सञ्चारकर्मीसँग कुराकानी गर्दै नियमावली कार्यान्वयनको तयारी अन्तिम चरणमा पुगेको जनाए।

“राइड सेयरिङको नियमावली बनिसकेको छ। केही यातायात व्यवसायीले आफ्नो सरोकार राख्नुभएको छ, उहाँहरूले आन्दोलन पनि गर्नुभयो। त्यसैले वार्ता र समन्वयको लागि एक महिनाको समय लिएका छौं,” पाण्डेले भने।

मुख्यमन्त्रीका अनुसार एक महिनाभित्र व्यवसायीहरूसँग संवाद गरी सम्भव भएसम्मको सहमति जुटाउने प्रयास गरिनेछ। “यदि नियमावलीभित्र सच्याउन सकिने वा थप गर्न सकिने कुरा भए प्रदेश सरकार तयार छ,” उनले स्पष्ट पारे, “तर सहमति नभए पनि एक महिनापछि नियमावली कार्यान्वयनमा जान्छ।”

यसैबीच, प्रतियोगिताको उद्घाटन समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री पाण्डेले गण्डकी प्रदेशमा अन्तर्राष्ट्रिय स्तरको खेल मैदान निर्माणको योजना अघि बढाइएको जानकारी दिए। उनले खेल पर्यटन प्रवर्द्धन गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताए।

“खेललाई पेसाको रूपमा लिन सकिनेछ, र खेलमै भविष्य बनाउन सकिन्छ। जो खेलमा रुचि राख्नुहुन्छ, कृपया यसलाई करियरको रूपमा लिनुहोस्,” मुख्यमन्त्रीको भनाइ थियो।

Leave a comment