Join our Channel

५ सयभन्दा बढी प्राध्यापकले अध्ययन बिदा दुरुपयोग गर्दा त्रिविलाई डेढ अर्ब रुपैयाँ घाटा

५ सयभन्दा बढी प्राध्यापकले अध्ययन बिदा दुरुपयोग गर्दा त्रिविलाई डेढ अर्ब रुपैयाँ घाटा

त्रिभुवन विश्वविद्यालय (त्रिवि) का करिब ५ सयभन्दा बढी प्राध्यापक र कर्मचारीले अध्ययन बिदाको नाममा तलब सुविधा लिएर अध्ययन नगरेको वा विदेश गएका प्राध्यापकले विश्वविद्यालय नफर्किएर अध्ययन बिदाको चरम दुरुपयोग गरेको पाइएको छ। यसबाट विश्वविद्यालयलाई करिब डेढ अर्ब रुपैयाँभन्दा बढी आर्थिक क्षति भएको छ।

त्रिविको नियमअनुसार प्राध्यापक तथा कर्मचारीले तीनदेखि पाँच वर्षसम्मको अध्ययन बिदा लिन पाउँछन्। तर, अध्ययन बिदा लिएर ३२० भन्दा बढीले अध्ययन नै पूरा नगरेको र १८० जना विदेश गएर पनि त्रिवि नफर्किएको छानबिन समितिको प्रारम्भिक रिपोर्ट मा खुलासा गरिएको छ।

त्रिविले सहप्राध्यापक जीवन काफ्ले संयोजक रहेको तीन सदस्यीय छानबिन समिति गठन गरेर अध्ययन बिदाको दुरुपयोगबारे अनुसन्धान थालेको हो। समितिले हाल तथ्यांक संकलनको काम अन्तिम चरणमा पुर्‍याइसकेको र प्रतिवेदन केही साताभित्र बुझाउने तयारी रहेको जनाएको छ।

छानबिन समितिका अनुसार अध्ययन बिदाको अवधिमा एक प्राध्यापकले ३१ लाख २० हजार रुपैयाँसम्म तलब सुविधा लिएका छन्। पाँच सयजना कर्मचारी र प्राध्यापकले यस्तो सुविधा लिएको अनुमान गर्दा त्रिविलाई कम्तीमा डेढ अर्ब रुपैयाँ बराबरको घाटा भएको हो।

बिदा लिएर फर्किने नप्राध्यापक निजी कलेजमा कार्यरत

त्रिविका कार्यकारी परिषद्का अनुसार धेरैजसो बिदा लिएका प्राध्यापक हाल निजी कलेज वा संस्थामा कार्यरत छन्। कतिपयले अध्ययन सकिएपछि पनि बेतलबी बिदा लिएर झन् लामो समयसम्म विश्वविद्यालय नफर्किएको पाइएको छ।

समितिका अनुसार अध्ययन बिदापछि ७–८ वर्षसम्म बेतलबी बिदामा बसेका केही प्राध्यापकले पेन्सनसमेत लिएर नियम विपरीत लाभ उठाइरहेका छन्।

१० प्रतिशत जरिवाना सहित तलब असुल गर्ने तयारी

त्रिविले बिदा दुरुपयोग गर्ने कर्मचारी तथा प्राध्यापकबाट १० प्रतिशत जरिवानासहित तलब सुविधा फिर्ता गर्न समितिले सिफारिस गर्ने तयारी गरेको छ। विश्वविद्यालयले तलब सुविधा फिर्ता गर्न कम्तीमा तीन महिना समय दिने र नफर्केमा सार्वजनिक रूपमा नाम सार्वजनिक गर्ने तयारीसमेत गरिएको छ।

राजनीतिक पहुँचको आडमा विवरण लुकाउने प्रयास

छानबिन समितिका अनुसार विभिन्न राजनीतिक संगठनसँग आबद्ध प्राध्यापकले क्याम्पस प्रमुखमाथि दबाब दिई विवरण लुकाउने प्रयास गरेका छन्। समितिले गत फागुनमा देशभरका त्रिवि निकायलाई विवरण माग्दा केही क्याम्पस र विभागले विवरण बुझाउन अस्वीकार गरेको थियो।

समाधानभन्दा समस्या बढाउँदै अध्ययन बिदा

समितिले अध्ययन बिदाको दुरुपयोगका कारण विश्वविद्यालयमा स्थायी प्राध्यापकको अभाव भएको र अस्थायी वा करार शिक्षकको भरमा कक्षा सञ्चालन हुँदै आएको निष्कर्ष निकालेको छ। यस्ता करार शिक्षकलाई पछि सीमित प्रतिस्पर्धाबाट स्थायी बनाउन दबाब दिने प्रवृत्तिले समस्या झन बढाएको समितिको भनाइ छ।

विदेश गएर नफर्किने मुख्य गन्तव्य : अमेरिका, युरोप, अस्ट्रेलिया

सबैभन्दा बढी अमेरिका, त्यसपछि युरोप, अस्ट्रेलिया, जापान, क्यानडाजस्ता देशहरूमा अध्ययन बिदा लिई गएका प्राध्यापकहरू त्रिविमा फर्किएका छैनन्। अब त्रिविले अध्ययन बिदा दुरुपयोग गर्नेहरूको नामावली तयार पारेर सम्बन्धित निकायमा पठाउने तयारी गरेको छ।

Leave a comment