
नेपाल बैंक लिमिटेडका तत्कालीन अध्यक्ष डा. चन्द्रबहादुर अधिकारीले विभिन्न व्यवसायीहरूबाट बैंक ऋण दिलाउने बहानामा ठूलो मात्रामा घुस लिएको तथ्य सार्वजनिक भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डा. अधिकारीसहित १० जनाविरुद्ध तीन फरक–फरक मुद्दा विशेष अदालतमा दायर गरेको छ।
१. भुसाल हस्पिटालिटीलाई ऋण दिलाउन १९ लाख घुस
रुपन्देहीको सिद्धार्थनगरस्थित भुसाल हस्पिटालिटी अन्तर्गतको र्याडिसन प्रोजेक्टलाई १ अर्ब ७७ करोड ऋण दिलाउनका लागि डा. अधिकारीले बालकृष्ण भुसाल, अमृत भुसाल र अंकित भुसालसँग मिलेर १९ लाख रुपैयाँ घुस लिएको अख्तियारको अनुसन्धानले देखाएको छ।
डा. अधिकारीले ‘लक्की’ भनिने भारतीय नागरिक खुसनसिब अन्सारीको सहयोगमा उक्त रकम माग गरेका थिए। यो घुस विभिन्न व्यक्तिहरूको खातामार्फत ट्रान्सफर भई अन्ततः अधिकारीको घरमा भेटिएको हो।
२. हिमाल–तराई कन्स्ट्रक्सनलाई ऋण प्रक्रियामा ५ लाख घुस
काठमाडौं–३२ मा रहेको हिमाल–तराई कन्स्ट्रक्सन प्रालिले नेपाल बैंकबाट ऋण लिन खोज्दा अध्यक्ष अधिकारीले ५ लाख रुपैयाँ घुस लिएको देखिएको छ। राजमान तामाङको नाममा रहेको कम्पनीका तर्फबाट उक्त रकम रमेश आचार्यमार्फत डा. अधिकारीलाई प्रदान गरिएको थियो।
अधिकारीको निर्देशनमा आचार्यमार्फत धितो मूल्यांकनदेखि ऋण प्रक्रिया अघि बढाइएको थियो। यो घुस पनि डा. अधिकारीको घरबाट बरामद गरिएको हो।
३. अकला–देवकी ट्रेडर्ससँग ५० लाख घुस लिएको आरोप
तनहुँको आबुखैरेनीस्थित अकला–देवकी ट्रेडर्सलाई २५ करोड ऋण दिलाउनका लागि डा. अधिकारीले ५० लाख घुस लिएको अनुसन्धानबाट खुलेको छ। सन्तोष सुवेदीमार्फत दानबहादुर कार्की, नारायणप्रसाद बराल र सुन्दरबहादुर बानियाँसँग मिलेर घुसको लेनदेन गरिएको थियो।
बैंक ट्रान्सफर र चेकमार्फत गरिएको रकम अविनाश श्रेष्ठ, मधुमाया अधिकारी (डा. अधिकारीकी श्रीमती) हुँदै अधिकारीसम्म पुगेको प्रमाण भेटिएको छ।
तीनवटा फरक मुद्दा, १० जनाविरुद्ध कारबाहीको माग
घुस प्रकरणमा डा. अधिकारीसहित लक्की खान, सन्तोष सुवेदी, नारायणप्रसाद बराल, दानबहादुर कार्की, रमेश आचार्यलगायत १० जनाविरुद्ध भ्रष्टाचार निवारण ऐन अनुसार कैद, जरिवाना र बिगो असुलीको माग गर्दै मुद्दा दायर गरिएको छ।