Join our Channel

बेलायत पठाइदिन्छु भन्दै ११ करोड रुपैयाँ ठगी गर्ने दुई जना पक्राउ

बेलायत पठाइदिन्छु भन्दै ११ करोड रुपैयाँ ठगी गर्ने दुई जना पक्राउ

वैदेशिक रोजगारीका लागि बेलायत पठाइदिने बहानामा ११ करोड रुपैयाँभन्दा बढी ठगी गर्ने दुई व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा मोरङको रतुवामाई नगरपालिका–१० का ४४ वर्षीय लक्ष्मण पराजुली र धनुषाको सबेला नगरपालिका–१२ का ४७ वर्षीय अरुणराज शर्मा रहेका छन्।

उनीहरूलाई काठमाडौं महानगरपालिका–३२, नरेफाँटबाट पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ।

प्रहरीका अनुसार पराजुली र शर्माले हालसम्म ३८ जनाबाट ११ करोड ६ लाख ९७ हजार रुपैयाँ ठगी गरेका छन्। “एकै व्यक्तिबाट ५० लाख रुपैयाँसम्म उठाएको पाइएको छ,” कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिए।

रकम उठाइसकेपछि फरार रहेका उनीहरूलाई प्रहरीले विशेष निगरानीपछि पक्राउ गरेको हो।

लक्ष्मण पराजुली काठमाडौं–१६, सरस्वतीनगरमा बस्दै आएका थिए भने अरुणराज शर्मा काठमाडौं–३२, नरेफाँटमै बस्दै आएका थिए। यसअघि पराजुलीकी श्रीमती पनि प्रहरीले पक्राउ गरिसकेको छ।

प्रहरीले अब विस्तृत अनुसन्धान अघि बढाउने जनाएको छ। ठगिएको रकम फिर्ता गर्न र पीडितलाई न्याय दिलाउन कानुनी प्रक्रिया अघि बढाइनेछ।

Leave a comment