
नेकपा एमालेका सचिव योगेश भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अगाडि सारेको पाँच बुँदे प्रस्तावमा कुनै हालतमा छलफल नहुने स्पष्ट पारेका छन्।
बुधबार संघीय संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै सचिव भट्टराईले उक्त प्रस्ताव स्वीकार्य नहुने बताए। उनले माओवादी केन्द्रले ड्राफ्टसहित पठाएको दुई बुँदे प्रस्तावमा भने एमालेको सहमति रहेको जानकारी दिए।
भट्टराईका अनुसार विपक्षी दलहरूले थप छलफलका लागि एक दिनको समय माग गरेका कारण बिहीबारको संसद् बैठक दिउँसो ३ बजेका लागि सारिएको छ। उनले भने, “रास्वपाको पाँच बुँदे प्रस्तावमा छलफल सम्भव छैन। माओवादीको दुई बुँदेमा भने सहमति गर्न सकिन्छ भन्ने अपेक्षा छ। त्यो नभए पनि संसद् लामो समयसम्म अवरुद्ध गरिँदैन, संसद् अगाडि बढ्छ।”
गृहमन्त्री रमेश लेखकको भिजिट भिसा प्रकरणमा नाम जोडिएपछि माओवादी केन्द्र, रास्वपासहितका विपक्षी दलहरूले गृहमन्त्रीको राजीनामाको माग गर्दै प्रतिनिधिसभा बैठक अवरुद्ध गर्दै आएका छन्। त्यसै सिलसिलामा बुधबारको संसद् बैठक पनि अवरुद्ध भएको थियो। संसद् गतिरोध हटाउन रास्वपाले पाँच बुँदे प्रस्ताव अघि सारेको थियो, तर एमालेले त्यसलाई अस्वीकार गर्दै छलफल नहुने बताएको हो।