
नेपाल सरकार भिजिट भिसा प्रकरणमा अपेक्षित रूपमा लचक नदेखाएको भन्दै नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनले कडा टिप्पणी गरेका छन्। बुधबार संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले सरकार झनै कठोर हुँदै गएको भन्दै चिन्ता व्यक्त गरे।
पुनले भने, “भिजिट भिसा प्रकरणमा सरकार अझै नरम भएको देखिन्न। हामी विपक्षी दलले निकै लचकता देखाएका छौं, तर सरकार उल्टै गरम देखिन्छ। अब सरकार जिम्मेवार बन्नुपर्ने बेला आएको छ।” उनले यो विषय प्रतिपक्षको मात्र नभई जनताको सरोकारको विषय भएको उल्लेख गर्दै जनताले प्रत्यक्ष रूपमा असर भोगिरहेको पनि बताए।
उनले थपे, “सरकारले छानबिन गरेर तथ्य बाहिर ल्याउने प्रतिबद्धता जनाउनु अनिवार्य छ। यो विषय गम्भीर छ, जनताको चासोको विषय हो। त्यसैले सरकारले आफ्नो भूमिका जिम्मेवारपूर्ण रूपमा निर्वाह गर्नुपर्छ।”
भिजिट भिसाको नाममा भइरहेको मानव तस्करी प्रकरणमा गृहमन्त्री रमेश लेखकको संलग्नता भए/नभएको विषयमा छानबिन गर्न माग गर्दै प्रमुख विपक्षी दलहरूले उच्चस्तरीय छानबिन समिति गठनको माग गरेका छन्। यसै विषयलाई लिएर उनीहरू १३ जेठदेखि संसद् अवरुद्ध गरिरहेका छन्।
यद्यपि, १५ जेठमा सरकारलाई बजेट प्रस्तुत गर्न अवरोध नगरे पनि दुई साता नाघ्दासमेत बजेटमाथिको छलफल सुरु हुन सकेको छैन। विपक्षी दलहरूको माग रहेको छ—सरकारले छानबिनमा प्रतिबद्धता जनाएपछि मात्रै संसद् सञ्चालनमा फोकस गरिनेछ।