
काठमाडौँको तीनकुनेमा गत चैत १५ गते भएको हिंसात्मक प्रदर्शनका सम्बन्धमा दुर्गा प्रसाईंसहित ७ जनालाई थुनामा राख्ने आदेश दिइएको छ भने ३२ जनालाई धरौटीमा छोड्ने आदेश जारी गरिएको छ।
काठमाडौँ जिल्ला अदालतका न्यायाधीश ध्रुवराज कार्कीको इजलासले बिहीबार ढिलो गरी फैसला सुनाएको हो। अदालतका सूचना अधिकारी दीपककुमार श्रेष्ठका अनुसार जनकमान्डर भनेर चिनिने दुर्गा प्रसाद प्रसाई, तारा राजावादी भनिने सरोज गौतम, अनुप राजावादी भनिने गोकर्ण शाही, डण्डपाणी रेग्मी, केशव बस्नेत, कुमार तामाङ र सुशील बराललाई थुनामा राख्न आदेश गरिएको हो।
मुद्दा विवरण
सरकारी वकिलको कार्यालयले मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ३२ अनुसार दुर्गा प्रसाईसहित ५० जना र थप ११ जनाको फरक अभियोगपत्रसहित मुद्दा दायर गरेको थियो। ११ जना यसअघि नै धरौटीमा छुटेका थिए। बाँकीमध्ये अदालतमा उपस्थित रहेका ५० जनामाथिको बयान र थुनछेक बहसपछि फैसला भएको हो।
धरौटीमा छुट्नेहरूलाई अदालतले १० हजारदेखि १ लाख रुपैयाँसम्मको धरौटीमा रिहा गर्न आदेश दिएको छ।
फरार प्रतिवादीहरू
राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, महासचिव एवम् सांसद धवल शमशेर राणा लगायत ११ जना भने अदालतमा उपस्थित नहुँदा फरार प्रतिवादीका रूपमा राखिएको छ। प्रहरीले उनीहरूलाई कानुनी दायरामा ल्याउने प्रक्रिया अघि बढाएको छ।
प्रहरीको उजुरी र आरोप
भद्रकाली प्रहरी परिसरका डीएसपी प्रह्लाद कार्कीसहितका प्रहरी अधिकृतहरूको जाहेरीका आधारमा नेपाल सरकारले दुर्गा प्रसाईसहित ५० जनाविरुद्ध राजद्रोह, आपराधिक उपद्रव, कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग, र संगठित अपराधमा मुद्दा दायर गरेको हो।
मृत्यु र घाइते
तीनकुनेको प्रदर्शन हिंसात्मक बन्दा अभिन्युज टेलिभिजनका पत्रकार सुरेश रजक र कीर्तिपुर-४ का २९ वर्षीय सविन महर्जनको ज्यान गएको थियो। प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर २० जना घाइते भएका थिए, जसमध्ये ३ जनाको उपचार हालसम्म जारी छ।
उदयपुरकी रेबिका खत्री (तिघ्रामा गोली), भोजपुरका डिल्लीप्रसाद लुइँटेल (पेटमा गोली) र काभ्रेका रामहरि (रिदम) श्रेष्ठ (पाखुरामा गोली) उपचाररत छन्।
तोडफोड र क्षति
प्रदर्शनका क्रममा ५६ वटा निजी तथा सार्वजनिक घर, संस्था र कार्यालयहरूमा तोडफोड तथा आगजनी भएको प्रहरीको तथ्यांक छ। यसमा १५ निजी घर, ३७ संस्था (२ सञ्चार गृह, १ सुपरमार्केट, २ अस्पताल, ४ बैंक, २ सहकारी, २० व्यवसाय, १ विद्यालय, २ पार्टी कार्यालय र ३ कार्यालय), १ उद्योग, २ प्रहरी कार्यालय र ट्राफिक आइल्यान्डमा क्षति पुगेको जनाइएको छ।
साथै, ६९ सवारीसाधन (६३ चारपांग्रे, ६ दुईपांग्रे) क्षतिग्रस्त भएका छन् भने सिसिटिभी लगायत अन्य भौतिक संरचनाहरूमा समेत नोक्सानी पुगेको छ।