
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को २४ औँ महाधिवेशनमा रामेछापका डा. सुजन कडरिया नयाँ अध्यक्षमा निर्वाचित भएका छन्। सहमतिबाट नेतृत्व चयन हुन नसकेपछि बिहीबार विद्युतीय भोटिङमार्फत निर्वाचन सम्पन्न भएको हो।
डा. कडरियाले म्याग्दीका प्रकाश पौडेललाई ७ मतको झिनो अन्तरले पराजित गर्दै अध्यक्ष पदमा जित हात पारेका हुन्। कडरियाले ७३२ मत प्राप्त गरे भने पौडेलले ७२५ मत पाए। दुवै उम्मेदवार अघिल्लो कार्यसमितिमा सचिवको जिम्मेवारीमा थिए।
अन्य विजयी पदाधिकारीहरू
- खुला उपाध्यक्ष: रामेछापकै ई. विकास श्रेष्ठले ७०८ मत ल्याएर भारी मतान्तरसहित जिते। उनका प्रतिस्पर्धी राजकुमार ढकालले ४२९ मत पाए।
- महिला उपाध्यक्ष: अञ्जना सिवाकोटी ७७५ मतसहित विजयी भइन्।
- महासचिव: दीपक धामी विजयी भए। उनले ७८५ मत ल्याएका थिए भने उनका प्रतिस्पर्धी आरके रोमसले ५५४ मत पाए।
- उपमहासचिव: कमल जोशी निर्वाचित भए।
- सचिवहरू: आकाश घर्ती, ई. रचना सापकोटा, ससीम बाबु खान र अधिवक्ता गोपाल नेपाल निर्वाचित भएका छन्।
सचिवालय सदस्यमा ४० जना चयन भएका छन्।
यस पटकको निर्वाचनमा जम्मा १,४५७ मत खसेको थियो। एमाले सचिवालयको निर्णयअनुसार अध्यक्ष, उपाध्यक्ष र महासचिव पदमा उमेर सीमा ३२ वर्ष तोकिएकोले अघिल्लो नेतृत्वमा रहेका केही नेताहरू प्रतिस्पर्धामा आउन पाएनन् र सचिवहरूले उम्मेदवारी दिएका थिए।
निर्वाचित केन्द्रीय नेताहरूले त्यही रात सपथ ग्रहण समेत गरेका छन्।