Join our Channel

अस्ट्रेलियामा नेपाली व्यवसायी लक्षित लुटपाट: हातहतियारसहित सुन पसल लुटियो

अस्ट्रेलियामा नेपाली व्यवसायी लक्षित लुटपाट: हातहतियारसहित सुन पसल लुटियो

अस्ट्रेलियामा नेपाली व्यवसायी लक्षित लुटपाटका घटनाहरू एकपछि अर्को गर्दै बढ्दै गएका छन्। करिब एक महिनाको अवधिमा दुईवटा सुन पसलमा हातहतियारसहित लाखौं डलर बराबरका गहना लुटिएको छ, जसमा दुबै व्यवसायी नेपाली हुन्।

पछिल्लो लुटपाट क्युन्सल्याण्ड राज्यको ब्रिसबन शहरको चर्मसाइड क्षेत्रमा भएको हो। नेपाली व्यवसायी विजय सुनारको सुन पसलमा चारजनाको समूहले हातहतियार सहित हमला गर्दै सिसा फुटाएर लाखौं मूल्यका गहना लुटेका थिए। लुटपाटका क्रममा पसल सञ्चालक विजय सुनार गम्भीर घाइते भएका छन् र अहिले स्थानीय अस्पतालको आईसीयूमा उपचाररत छन्।

यसअघि पनि गत महिना ब्रिसबनकै लुटबीचमा नेपाली व्यवसायी तेजेन्द्र घिमिरेको गहना पसलमा यस्तै प्रकारको लुटपाट भएको थियो। दुबै घटनामा समान शैली र प्रवृत्ति देखिएको प्रहरीले जनाएको छ, र हाल घटनामा संलग्न लुटेराको खोजी जारी रहेको जानकारी दिएको छ।

एनआरएनएद्वारा सरकारको ध्यानाकर्षण

नेपाली व्यवसायीहरूमाथि निरन्तर भइरहेका आक्रमणको विषयमा एनआरएनए क्युन्सल्याण्ड शाखा चिन्तित भएको जनाएको छ। शाखाका संयोजक शम्भु घैसे नेतृत्वको टोलीले क्युन्सल्याण्ड राज्यका विपक्षी नेता स्टिभन माइल्ससँग भेट गरी सुरक्षा माग गरेका छन्।

भेटमा नेपाली व्यवसायीले राज्य सरकारसँग छिटो छानबिन, दोषीलाई कारबाही, र व्यवसायीको सुरक्षाको प्रत्याभूति माग गरेका छन्। विपक्षी नेता माइल्सले पीडितलाई आवश्यक सहयोग गर्ने र सुरक्षित व्यापारिक वातावरण बनाउन पहल गर्ने आश्वासन दिएका छन्।

सुरक्षाको प्रत्याभूति माग

ब्रिसबनमा मात्र नभई केही महिनाअघि मेलबर्नको कोबर्ग क्षेत्रको नेपाली सुन पसलमा पनि यस्तै लुटपाट भएको थियो। करिब डेढ दर्जन नेपाली व्यवसायीहरू अस्ट्रेलियामा गहना पसल सञ्चालनमा संलग्न छन्। बढ्दो घटनाबाट व्यवसायीहरू त्रसित बनेका छन् र अन्य राज्यहरूमा यस्ता घटना नदोहरियोस् भनेर सशक्त सुरक्षा उपाय अपनाउन माग गरिएको छ।

एनआरएनए क्युन्सल्याण्डले राज्यका प्रमुख मन्त्री, प्रहरी मन्त्रीलगायत उच्च अधिकारीहरूसँग भेट गर्दै व्यवसायीहरूको सुरक्षा सुनिश्चित गर्न माग गर्ने तयारी गरेको छ।

घाइते सुनारको अवस्था सुधारोन्मुख

लुटपाटमा गम्भीर घाइते भएका विजय सुनारको अवस्था अहिले खतरामुक्त रहेको बताइएको छ। प्रहरीले घटनामा संलग्नको तस्बिर सार्वजनिक गर्दै सर्वसाधारणसँग सहयोग मागेको छ। साथै, एनआरएनए क्युन्सल्याण्ड ले प्रेस विज्ञप्ति जारी गर्दै घटनाको गम्भीर छानबिन र दोषीमाथि कडा कारबाहीको माग गरेको छ।

Leave a comment