
४० लाख रुपैयाँ ठगी गरेको आरोपमा फरार रहेका एक युवकलाई प्रहरीले काठमाडौंको मध्यबानेश्वरबाट पक्राउ गरेको छ। पक्राउ पर्ने युवक कञ्चनपुर जिल्लाको भीमदत्त नगरपालिका–१४ स्थायी घर भई हाल काठमाडौं बसोबास गर्दै आएका २३ वर्षीय खगेन्द्र बिष्ट हुन्।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार बिष्ट ठगीसम्बन्धी मुद्दामा फरार थिए। विशेष सूचनाका आधारमा उनलाई प्रहरीले पक्राउ गरेको हो। प्रारम्भिक अनुसन्धानपछि बिष्टलाई थप कारबाही तथा अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय कञ्चनपुर पठाइएको प्रहरीले जनाएको छ।
प्रहरीले सर्वसाधारणलाई ठगीका घटनाबाट सचेत रहन आग्रह गर्दै यस्ता गतिविधिमा संलग्न व्यक्तिहरूलाई कानुनी दायरामा ल्याउने प्रक्रिया तीव्र पारिएको जानकारी दिएको छ।