Join our Channel

पार्टी नेताहरूमा आलोचनात्मक चेत र आत्मसमीक्षा आवश्यक : एमाले नेता ईश्वर पोखरेल

पार्टी नेताहरूमा आलोचनात्मक चेत र आत्मसमीक्षा आवश्यक : एमाले नेता ईश्वर पोखरेल

नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टीका नेताहरूमा आलोचनात्मक चेतना र आत्मसमीक्षा गर्ने संस्कृतिको विकास हुनुपर्ने बताएका छन्।

रामेछापका पुराना एमाले नेता तथा केन्द्रीय परिषद् सदस्य राजकुमार श्रेष्ठले लेखेको आत्मकथात्मक पुस्तक ‘आफ्नै कथा आफ्नै व्यथा’ को काठमाडौंस्थित होटल ए वान प्यालेसमा आयोजित लोकार्पण समारोहमा बोल्दै पोखरेलले यस्तो धारणा राखेका हुन्।

पोखरेलले विगतमा माओवादी र एमालेबीच भएको एकतालाई महान् र ऐतिहासिक भने पनि त्यस एकताले कम्युनिष्ट आन्दोलनमा विकृति र विसङ्गति ल्याएको स्पष्ट पारे। उनका अनुसार, एमालेले अघिल्लो कमजोरीहरू सच्याउँदै सुधारको बाटो लिँदै आएको छ, त्यसैले पार्टीमाथि निरन्तर प्रहार भइरहेको छ।

नेपाल भौगोलिक, जातीय र भाषिक विविधताको मुलुक भएको उल्लेख गर्दै पोखरेलले त्यसलाई सम्बोधन गर्ने प्रक्रियामा त्रुटि भएको भए पनि एमाले त्यसलाई सुधार्दै अघि बढिरहेको बताए।

उनले विगतमा राजनीतिक विचारकै कारण जेल, नेल र पीडा भोगेका धेरै नेता–कार्यकर्ताले अहिलेको लोकतान्त्रिक व्यवस्थाको जग हालिएको स्पष्ट पारे।
“बाहिर खुलेर बोल्न नपाइने, संगठन गर्नेलाई दण्डित गरिन्थ्यो। त्यही विरुद्ध संघर्ष गरेर ल्याइएको व्यवस्था हो यो,” पोखरेलले भने।

पोखरेलका अनुसार आजका नयाँ पुस्तालाई अघिल्लो पुस्ताले गरेको त्याग, संघर्ष र योगदानमाथि विश्वास गर्न गाह्रो भइरहेको छ।

कार्यक्रममा नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य तथा पूर्व सांसद देवशंकर पौडेलले पनि आफ्नो कम्युनिष्ट बन्ने प्रेरणा राजकुमार श्रेष्ठबाट पाएको उल्लेख गरे। निरंकुश पञ्चायती शासन र सामन्तवादी संरचनाविरुद्ध लड्दै श्रेष्ठको परिवारले ठूलो संघर्ष गरेको बताउँदै पौडेलले त्यसको ऐतिहासिक महत्व औंल्याए।

पुस्तकका लेखक राजकुमार श्रेष्ठले कार्यक्रममा पुस्तकमार्फत आफूले भोगेको जीवन संघर्ष, राजनीतिक यात्रा र व्यक्तिगत अनुभव प्रस्तुत गरेको बताए। उनले नयाँ पुस्तालाई इतिहास थाहा होस् भन्ने उद्देश्यले यो पुस्तक लेखिएको जानकारी दिए।

Leave a comment