
हेटौंडा–काठमाडौंलाई जोड्ने प्रमुख वैकल्पिक सडक कान्तिलोकपथ आइतबार बिहानदेखि पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध भएको छ। शनिबार रातिदेखि परेको अविरल वर्षाले सडकको ठिंगन–वगुवा खण्ड अन्तर्गतको भर्याङडाँडा र शिखरकटेरी क्षेत्रमा पहिरो खसेको हो।
ठिंगन इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक विद्यासागर मेहताका अनुसार, भर्याङडाँडामा माथिबाट आएको पहिरोले सडकमा सवारी सञ्चालन असम्भव बनाएको छ। साथै, मकवानपुरगढी अन्तर्गत शिखरकटेरी क्षेत्रमा पनि सडक माथिबाट आएको पहिरो र रुख ढलेर सडक पूर्ण रूपमा बन्द भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक ठाकुर सापकोटाले जानकारी दिए।
दुवै स्थानमा अझै पानी परिरहेकोले पहिरो हटाउने कार्यमा कठिनाइ भैरहेको प्रहरी स्रोतले बताएको छ। सडक खुल्ने समय अझै निश्चित नभएको हुँदा यात्रुहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्न सुझाव दिइएको छ।