
सञ्चारकर्मी दिलभूषण पाठकलाई तत्काल पक्राउ नगर्न उच्च अदालत पाटनले सोमबार अल्पकालीन अन्तरिम आदेश दिएको छ।
न्यायाधीश ऋषिराज भण्डारीको एकल इजलासले असार ५ गते दुवै पक्षलाई छलफलका लागि बोलाउँदै हाललाई पाठकलाई पक्राउ नगर्न प्रहरीलाई निर्देशन दिएको हो।
नेपाल प्रहरीको साइबर ब्युरोले काठमाडौं जिल्ला अदालतबाट अनुमति लिएर उनलाई विद्युतीय कारोबार (साइबर अपराध) अन्तर्गत पक्राउ गर्न प्रक्रिया अघि बढाएको थियो। तर सो आदेशविरुद्ध पाठकले उच्च अदालतमा निवेदन दर्ता गराएपछि अदालतले पक्राउ रोक्न आदेश दिएको हो।
अदालती आदेशमा भनिएको छ, “दुवै पक्षको बहसपछि मात्र अन्तरिम आदेश जारी गर्ने वा नगर्ने टुंगो लाग्ने भएकाले त्यसबेलासम्म पाठकलाई कानुनबमोजिम बाहेक धरपकड नगर्नू–नगराउनू।”
सञ्चारकर्मी पाठकमाथि काठमाडौंको हिल्टन होटल सम्बन्धी समाचार युट्युबमार्फत सार्वजनिक गरेपछि पक्राउ पुर्जी जारी भएको हो। उनले उक्त समाचारमा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री डा. आरजु राणाका छोरा जयवीर देउवालाई होटलको सेयर विवादमा जोड्दै प्रसारण गरेका थिए।
जयवीर देउवाले आफ्नो मानमर्दन गरिएकाले पाठकविरुद्ध साइबर ब्युरोमा उजुरी दिएका थिए।
अब असार ५ गते दुवै पक्षबीच अदालतमा बहस हुनेछ र त्यसपछि आदेशलाई निरन्तरता दिने वा नदिनेबारे निर्णय गरिनेछ।