Join our Channel

फर्किन चाहने नेपालीहरू सम्पर्कमा आए योजना बनाउँछौं – इजरायलस्थित नेपाली राजदूत धनप्रसाद पण्डित

फर्किन चाहने नेपालीहरू सम्पर्कमा आए योजना बनाउँछौं – इजरायलस्थित नेपाली राजदूत धनप्रसाद पण्डित

इजरायल–इरान युद्ध चर्किँदै जाँदा इजरायलमा रहेका नेपालीहरूको अवस्था गम्भीर बन्दै गएको छ। इजरायलको राजधानी तेल अविवमा रहेका नेपाली राजदूत धनप्रसाद पण्डितले सबै नेपालीहरू अहिले सम्म सुरक्षित रहेको जनाउँदै आवश्यक परे उद्धारको तयारी भइसकेको जानकारी दिएका छन्।

राजदूत पण्डितका अनुसार हाल इजरायलमा ५ देखि ७ हजार नेपाली रहेका छन्। तीमध्ये २ हजार जना नेपाली सरकारको सहमतिअनुसार रोजगारमा पुगेका हुन् भने अन्य ३५० जना तालिम लिएर फर्किएर आएका कृषिक्षेत्रका कामदारहरू हुन्। त्यसबाहेक १५ जना विद्यार्थी र करिब ५–७ सय नेपाली वर्षौंदेखि बस्दै आएका छन्।

वर्तमान अवस्थामा इजरायलमा बंकरभित्र छिरेर बस्नुपर्ने अवस्था आएको छ। दिनभरमा ८ देखि १० पटकसम्म बंकरमा जानुपर्ने अवस्था छ। क्षेप्यास्त्र खस्ने जोखिमका कारण विद्यालय, बजार र विमानस्थल बन्द भएका छन्। राजदूत पण्डितले भने, “बंकर बिना यहाँ घर नै छैन, सबै घर, अफिस र रेस्टुरेन्टमा बंकरको व्यवस्था गरिएको छ।”

इजरायलमा रहेका नेपालीहरू मध्ये अधिकांश केयरगिभरका रूपमा कार्यरत छन्। सबै नेपालीहरू त्रसित अवस्थामा भए पनि हालसम्म कुनै नेपालीलाई प्रत्यक्ष क्षति भएको छैन। नयाँ आएका नेपालीहरू बढी डराएका छन् भने पुराना नेपालीहरू पनि अहिलेको अवस्था पहिलेभन्दा तनावपूर्ण रहेको बताइरहेका छन्।

दूतावासले २४ सै घण्टा खुला हटलाइन सञ्चालनमा ल्याएको छ र नेपाली समुदायका १८ संस्थासँग सम्पर्कमा रही सुरक्षा सतर्कता अपनाउन अनुरोध गरेको छ। अहिलेसम्म उद्धारको माग भने कोहीबाट आएको छैन। यद्यपि नेपाल फर्किन चाहने नेपालीहरू सम्पर्कमा आएमा आवश्यक योजना बनाइने राजदूत पण्डितले स्पष्ट गरेका छन्।

वर्तमानमा विमानस्थल बन्द रहेको र स्थलमार्गबाट जोर्डन वा इजिप्ट हुँदै बाहिरिनुपर्ने अवस्था रहेको जानकारी दिँदै राजदूत पण्डितले भने, “जोर्डनको सीमासम्म पुग्न २.५ घण्टा लाग्छ भने त्यहाँबाट राजधानी पुग्न थप ३.५ घण्टा लाग्नेछ। यी मार्ग खुला भए पनि सहज छैन।”

नेपाल सरकार र परराष्ट्र मन्त्रालयसँग निरन्तर समन्वयमा रहेको दूतावासले उद्धारका लागि भारतीय, फिलिपिन्स, श्रीलंकाली तथा थाइल्याण्डका दूतावासहरूसँग पनि सहकार्य गरिरहेको छ। राजदूत पण्डितले युद्ध स्थिति लम्बिँदै गएका खण्डमा नेपालीहरूको सुरक्षालाई पहिलो प्राथमिकतामा राखी उद्धार कार्य अघि बढाइने जानकारी दिएका छन्।

Leave a comment