Join our Channel

सानो लक्ष्य, ठूलो जित : नेपालद्वारा स्कटल्यान्ड २ विकेटले पराजित, सन्दीप चम्किए

सानो लक्ष्य, ठूलो जित : नेपालद्वारा स्कटल्यान्ड २ विकेटले पराजित, सन्दीप चम्किए

नेपालले मंगलबार सम्पन्न त्रिकोणात्मक ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलामा स्कटल्यान्डलाई २ विकेटले हराउँदै प्रतियोगितामा पहिलो जित हात पारेको छ। ग्लास्गोस्थित टिटउड मैदानमा भएको खेलमा नेपालले ९८ रनको सानो लक्ष्य १९.५ ओभरमा पूरा गर्‍यो।

खेल कम स्कोरमा सीमित भए पनि निकै रोमाञ्चक रह्यो। स्कटल्यान्डले टस जितेर पहिले ब्याटिङ गर्दै १९.४ ओभरमा जम्मा ९७ रनमै समेटिएको थियो। नेपालका बलरहरूले उत्कृष्ट प्रदर्शन गर्दै विपक्षी ब्याटिङलाई पूर्ण नियन्त्रणमा राखे।

दीपेन्द्रसिंह ऐरीले पहिलो ओभरमै विकेट लिएर स्कटल्यान्डको झडप सुरु गराए भने करण केसीले अन्तर्राष्ट्रिय टी२० क्रिकेटमा आफ्नो १०० औं विकेट पूरा गरे। सन्दीप लामिछानेले घातक बलिङ गर्दै ४ ओभरमा ११ रन खर्चेर ४ विकेट लिए, जसमा १ मेडन ओभर पनि थियो।

नेपालका लागि कुशल भुर्तेलले सबैभन्दा बढी ४० रन बनाए। उनले ३५ बलमा ४ चौका प्रहार गरे। अन्य ब्याटरहरूले संघर्षपूर्ण प्रदर्शन गरे पनि नेपालले लक्ष्य अन्ततः १ बल बाँकी रहँदा पूरा गर्‍यो। अन्तिम ओभरमा किरण ठगुन्ना आउट भए पनि सन्दीप लामिछानेले १ रन जोड्दै नेपाललाई जित दिलाए।

स्कटल्यान्डका लागि माइकल लिस्कले ४६ रन बनाए भने अन्य ब्याटरहरू सस्तामै आउट भए। नेपालले बलिङमा सन्दीपसँगै दीपेन्द्र (२ विकेट), करण (२ विकेट), ललित र लोकेश बमको योगदान उल्लेखनीय रह्यो।

यो खेल नेपाल र स्कटल्यान्डबीचको पहिलो आधिकारिक टी२० अन्तर्राष्ट्रिय म्याच थियो। यसअघि २०१३ मा यूएईमा भएको विश्वकप छनोटमा स्कटल्यान्डले नेपाललाई हराएको थियो, तर त्यो समय नेपालले टी२० मान्यता पाएको थिएन।

नेपालले अब बुधबार नेदरल्यान्ड्स र शुक्रबार फेरि स्कटल्यान्डसँग खेल्नेछ। अघिल्लो खेलमा नेपाल नेदरल्यान्ड्ससँग तीन सुपर ओभरसम्मको संघर्षमा पराजित भएको थियो।

Leave a comment