
चर्चित नेपाली ब्लकबस्टर फिल्म ‘जारी’ को दोस्रो भाग ‘जारी २’ दसैंमा प्रदर्शनमा आउने पक्का भएको छ। निर्माण टिमले ६ दिनमा फिल्मको छायांकन सकिएको जानकारी दिँदै यो दसैंमा फिल्म रिलिज गर्ने घोषणा गरेको हो।
फिल्मको निर्देशन कवि तथा निर्देशक उपेन्द्र सुब्बाले गरेका छन् भने छायांकन पाँचथरको विभिन्न स्थानमा गरिएको हो। बाँसुरी फिल्म्सद्वारा निर्माण गरिएको ‘जारी २’ मा फेरि पनि दर्शकको मन जितेका कलाकार दयाहाङ राई र मिरुना मगर मुख्य भूमिकामा देखिनेछन्।
हालै निर्माण टिमले दया र मिरुनाको फिल्मभित्रको दृश्यसहितको तस्बिर सार्वजनिक गरेको छ, जसमा मिरुना लिम्बू पहिरनमा देखिएकी छिन् भने दयाहाङ परम्परागत च्याम्ब्रुङ (ढोल) बजाउँदै प्रस्तुत छन्।
यसअघि २०८० सालमा आएको ‘जारी’ले दर्शकमाझ व्यापक सफलता पाएको थियो र नेपाली बक्स अफिसमा झण्डै १७ करोड रुपैयाँभन्दा बढीको व्यापार गरेको थियो। त्यही सफलताको आधारमा निर्माण गरिएको सिक्वेल ‘जारी २’ को घोषणा भएदेखि नै दर्शकमाझ प्रतिक्षा बढेको हो।
‘जारी २’ मा दया र मिरुनासँगै कलाकारहरू विजय बराल, ऋचा शर्मा, बुद्धि तामाङ, पुष्कर गुरुङ, प्रेम सुब्बा, माओत्से गुरुङ, मानहाङ लावती, विष्णु मोक्तान जस्ता चर्चित अनुहारले अभिनय गर्नेछन्।
दसैंको अवसरमा ‘जारी २’ को रिलिजले नेपाली फिल्म उद्योगमा नयाँ रेकर्ड बनाउने अनुमान गरिएको छ।
यदि तपाईंलाई यो लेख उपयोगी लाग्यो भने, कृपया सेयर गर्न नबिर्सनुहोस्! तपाईंको समर्थन नै हाम्रो प्रेरणा हो।