
काठमाडौंका विभिन्न स्थानहरूबाट प्रहरीले ठूलो परिमाणको लागूऔषधसहित पाँच जनालाई पक्राउ गरेको छ।
प्रहरीका अनुसार दक्षिणकाली नगरपालिका–५ फर्पिङबाट प्रहरीले दुई जनालाई पक्राउ गरेको हो। उनीहरूसँग फेनारगन ९६० एम्पुल, नोर्फिन ५०० एम्पुल, डाइजेपाम ९८३ एम्पुल र बुप्रेनोर्फिन ४८७ एम्पुल फेला परेको छ।
पक्राउ पर्नेहरूमा रौतहटको गरूडा नगरपालिका–९ निवासी राज किशोर सहनी र गौर नगरपालिका–४ निवासी सुखारिस सहनी छन्। दुवैलाई हेटौंडाबाट काठमाडौंतर्फ आइरहेको ना.१ ज ५४३७ नम्बरको सुमो गाडीमा लागूऔषध लुकाएर ल्याउँदै गरेको अवस्थामा इलाका प्रहरी कार्यालय फर्पिङबाट खटिएको टोलीले नियन्त्रणमा लिएको हो।
त्यसैगरी, काठमाडौं महानगरपालिका–२६ पवित्रनगरबाट प्रहरीले ६ सय मिलिग्राम ब्राउन सुगर जस्तो देखिने पदार्थ र नगद १ लाख ८० हजार रुपैयाँसहित तीन जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका–५ निवासी रामहरी थापा, पर्वतको पैयूं गाउँपालिका–६ निवासी दिनेश आचार्य र झापा बाह्रदशी नगरपालिका–२ निवासी सचिन लम्साल रहेका छन्।
तीनै जना हाल काठमाडौंको पवित्रनगरमा डेरा गरी बस्दै आएका थिए।
प्रहरीले दुवै घटनामा संलग्नहरूमाथि आवश्यक अनुसन्धान अघि बढाइएको जनाएको छ।