Join our Channel

हिलोमा फसेर अवरुद्ध महेन्द्र राजमार्ग, डाइभर्सन चौथो पटक बग्यो

हिलोमा फसेर अवरुद्ध महेन्द्र राजमार्ग, डाइभर्सन चौथो पटक बग्यो

लगातारको वर्षापछि हिलाम्य बनेको सडकका कारण महेन्द्र राजमार्गको दाउन्ने खण्ड मंगलबार रातिदेखि पूर्ण रुपमा अवरुद्ध भएको छ। दाउन्नेको विश्वकर्मा मन्दिर नजिक निर्माणाधीन कल्भर्ट नजिक मालवाहक गाडीहरु फस्दा राजमार्गमा गाडी चल्न सकेका छैनन्।

ईलाका प्रहरी कार्यालय दुम्कीवासका प्रहरी निरीक्षक राजन तिमिल्सिनाका अनुसार मंगलबार राति १ बजेदेखि मालवाहक गाडी रोकिएका छन्, जसका कारण लामो समयदेखि यात्रु तथा चालकहरू मारमा परेका छन्। “हिलोले गर्दा बुटवलतर्फ उकालो चढ्न गाह्रो भएकाले रुट परिवर्तनको प्रयास भइरहेको छ,” निरीक्षक तिमिल्सिनाले जानकारी दिए।

दाउन्नेमा करिब १४ किलोमिटर क्षेत्रको सडक चाइना स्टेट इन्जिनियरिङ कर्पोरेशनले निर्माण गर्दै आएको हो। तर ठेकेदारले ढिलो गरी काम गर्दा हाल खाल्डाखुल्डी र हिलाम्य अवस्थामा परिणत भएको राजमार्गले यातायातमा समस्या ल्याएको छ।

डाइभर्सन चौथो पटक बग्यो

छ महिनाअघि भाँचिएको बिनयी खोलाको फलामे पुलको विकल्पका रूपमा बनाइएको कच्ची डाइभर्सन मंगलबार रातिको वर्षाले फेरि बगाएको छ। यो पछिल्ला ३ सातामा चौथो पटक हो जब डाइभर्सन बगाएको हो।

प्रहरी निरीक्षक तिमिल्सिनाले भने, “हिजो साँझ मात्र बनाइएको डाइभर्सन रातिको बाढीले फेरि बगायो। खोलामा बाढी आउनासाथ अस्थायी सडक बगिहाल्छ।”

Leave a comment