
भेरीगंगा नगरपालिका अन्तर्गतको रामघाट क्षेत्रमा लिची खेतीप्रति स्थानीय किसानको आकर्षण तीव्र रुपमा बढ्दो छ। पहिले मकै मात्रै लगाउने किसानहरू अब मकैको ठाउँमा लिची र आँपका बोट रोप्न थालेका छन्। फलफूललाई नगदे बालीका रूपमा हेर्ने प्रवृत्ति बढेसँगै गाउँका बारी, छेउछाउ र आँगन लिचीले हराभरा हुँदै गएका छन्।
रामघाट–११ की रूपा धौलाकोटीले चार बिघा जमिनमा ३० वटा लिची र १५० वटा आँपका बोट लगाएकी छन्। उनले २५ वर्षअघि रोपेका ती बोटबाट अहिले वार्षिक लाखौँ रुपियाँ आम्दानी गरिरहेकी छन्। “यसपालि आँपमा हावाहुरीले असर गर्यो तर लिची राम्रो फल्यो,” उनले भनिन्।
रूपाका अनुसार लिची बोटमै प्रतिकिलो १०० देखि १५० रुपियाँमा बिक्री हुने गर्छ। ग्राहकहरू आफैं घरमै आएर किन्ने भएकाले बजार खोज्न पनि नपर्ने उनको भनाइ छ। “लिचीबाट मात्र वर्षमा एक लाखभन्दा बढी आम्दानी हुन्छ,” उनले थपिन्, “यसले घरखर्च चलाउन र केही बचत गर्न सहयोग पुगेको छ।”
त्यस्तै, टेकबहादुर धमलाले पनि पाँच रोपनी खेतमा लिची लगाएका छन्। कीराले केही असर गरे पनि यसपालि उनले झन्डै एक लाख आम्दानी भएको बताए। “मलपानी र हेरचाह राम्रो भए लिची खेती अत्यन्त फाइदाजनक हुन्छ,” उनले सुनाए।
रामघाटको अधिकांश घर आँगनमा अहिले दुई-चारवटा लिचीका बोट देखिन्छन्। किसानहरूले सुरुमा सानो लगानीमा राम्रो प्रतिफल देखेपछि लिचीलाई व्यावसायिक रूपमा विस्तार गरिरहेका छन्। धमलाले भने, “बजार नजिकै छ, सुरुमा धेरै लगानी पनि चाहिँदैन, त्यसैले धेरै किसान लिची तर्फ लागेको हो।”
भेरीगंगा नगरपालिका कृषि शाखाका प्रमुख सुरज बिसीका अनुसार वडा नम्बर ११ र १३ लिची उत्पादनका मुख्य क्षेत्र हुन्। उनले भने, “यहाँको हावापानी र माटोको बनावट फलफूल खेतीका लागि उपयुक्त छ।”
हाल रामघाट क्षेत्रमा लिची १३.५ हेक्टर, आँप २९.९ हेक्टर, केरा १६ हेक्टर, सुन्तला ३.१ हेक्टर र कागती ७.८ हेक्टरमा खेती भइरहेको छ। नगरपालिकाले किसानलाई आकर्षित गर्न ५० प्रतिशत अनुदानमा लिची, आँप र कागतीका बिरुवा वितरण गरिरहेको बिसीले जानकारी दिए।
रामघाटमा लिची खेती किसानहरूका लागि आम्दानीको नयाँ स्रोत बन्दै गएको छ। सरकारी सहयोग र बजारको सहज पहुँचले यो खेती झनै आकर्षक बन्दै गएको देखिन्छ।