
ग्लास्गोमा बिहीबार भएको रोमाञ्चक ट्वान्टी–२० अन्तर्राष्ट्रिय खेलमा नेपालले नेदरल्यान्ड्सलाई ६ विकेटले पराजित गर्दै शानदार जित हात पारेको छ।
पहिलो खेलमा तीन सुपर ओभरसम्म गएर हार बेहोरेको नेपालले दोस्रो खेलमा सशक्त रुपमा फर्किएको हो। १७५ रनको लक्ष्य पछ्याएको नेपालले दुई बल बाँकी छँदै लक्ष्य पूरा गर्यो।
अन्तिम ओभरमा ७ रन आवश्यक परेको अवस्थामा आरिफ शेख रिटायर्ट हर्ट भए। त्यसपछि मैदानमा आएका लोकेश बमले जिम्मेवारी सम्हाल्दै ज्याच लायनको बलमा दुई छक्का प्रहार गरी नेपाललाई जित दिलाए।
नेपालका ओपनर कुशल भूर्तेलले ५१ बलमा ६ चौकासहित ६५ रन बनाए। आरिफ शेखले २३ बलमा ३ चौका र २ छक्कासहित ३९ रनको आक्रामक इनिङ्स खेले।
टी–२० मा डेब्यु गरेका भीम सार्कीले २७ रन बनाए। कप्तान रोहित पौडेलले ६ रन बनाए भने दीपेन्द्रसिंह ऐरी १६ रनमा अविजित रहे।
यसअघि, टस हारेर पहिले ब्याटिङमा उत्रिएको नेदरल्यान्ड्सले ओपनर माइकल लेभिटको ८६ रनको शानदार अर्धशतकको मद्दतले ७ विकेट गुमाएर १७४ रन बनाएको थियो। लेभिटले ५३ बलमा ६ चौका र ५ छक्का प्रहार गरे।
नेदरल्यान्ड्सको लागि रोइलोफ भान डेर मर्बीले २१ बलमा ४ चौका र १ छक्का सहित ३६ रन बनाए। आर्यन दत्त १७ रनमा अविजित रहे।
नेपालका लागि करण केसीले २ विकेट लिए भने ललित राजवंशी, दीपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने र रुपेश सिंहले एक/एक विकेट लिए।
यस खेलमा अनिल शाह, बसिर अहमद र किरण ठगुन्नाको स्थानमा भीम सार्की, आरिफ शेख र आसिफ शेखले टोलीमा स्थान पाए।
श्रृंखलाको पहिलो खेलमा सुपर ओभरसम्म संघर्ष गरेर हार बेहोरेको नेपालले दोस्रो खेलमा नेदरल्यान्ड्सलाई हराएको हो। तेस्रो खेलमा अब नेपाल स्कटल्यान्डसँग शुक्रबार भिड्नेछ।