
पत्रकार दिलभूषण पाठकविरुद्ध जारी गरिएको अल्पकालीन अन्तरिम पक्राउ आदेशलाई पाटन उच्च अदालतले निरन्तरता दिएको छ।
न्यायाधीशद्वय टंकप्रसाद गुरुङ र टीकाराम आचार्यको संयुक्त इजलासले सोमबार सो आदेश दिएको हो। आदेशमा भनिएको छ, “पाठकविरुद्ध परिएको जाहेरीका आधारमा उनलाई पक्राउ गर्नुपर्ने अवस्था देखिँदैन, त्यसैले अन्तिम फैसला नहुँदासम्म पक्राउ नगर्न/नगराउनु।”
यसअघि, उच्च अदालत पाटनका न्यायाधीश ऋषिराज भण्डारीको एकल इजलासले पनि पत्रकार पाठकको निषेधाज्ञा निवेदनमाथि सुनुवाइ गर्दै अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो।
पत्रकार पाठकले आफ्नो कार्यक्रम ‘Tough Talk’ मार्फत ‘हिल्टनमा जयवीर देउवाको पैसा!’ शीर्षकमा एक भिडियो प्रकाशित गरेका थिए। उक्त भिडियोमा उनले हिल्टन होटलको सेयर खरिद बिक्रीमा जयवीरसिंह देउवाको संलग्नता रहेको दाबी गरेका थिए।
यसपछि कांग्रेस सभापति शेरबहादुर देउवा र परराष्ट्रमन्त्री आरजु राणा देउवाका छोरा जयवीरसिंह देउवाले साइबर ब्युरोमा उजुरी दिएका थिए। उजुरीकै आधारमा साइबर ब्युरोले काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमति लिएर पत्रकार पाठकलाई पक्राउ गर्ने प्रक्रिया अघि बढाएको थियो।
तर अदालतले स्पष्ट पारीसकेको छ — पाठकलाई अनुसन्धानको नाममा पक्राउ गर्नु न्यायोचित देखिन्न।