
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानले पहिलोपटक क्यान्सरका गम्भीर अवस्थामा रहेका बिरामीहरूलाई लक्षित गर्दै घरमै गएर उपचार सेवा दिने कार्यक्रम सुरु गरेको छ।
‘होम बेस्ड हस्पाइस केयर सेवा’ अन्तर्गत क्यान्सरका बिरामीलाई आवश्यक पर्ने नियमित वा आकस्मिक उपचार सेवा स्वास्थ्यकर्मीको टोलीले बिरामीकै घरमा गएर उपलब्ध गराउनेछ।
बीपी प्रतिष्ठानका सह–प्रवक्ता डा. अभिजीत कुमारका अनुसार, यस्तो सेवा काठमाडौं बाहेक देशमा पहिलोपटक धरानमा शुरु गरिएको हो। उनले बताएअनुसार अस्पताल जान असमर्थ बिरामी तथा पीडामा रहेका परिवारका लागि यो सेवा निकै राहतदायी हुने अपेक्षा गरिएको छ।
यस सेवाका लागि इच्छुक बिरामीले प्रतिष्ठानको आन्तरिक चिकित्सा विभागको ओन्कोलोजी एकाइसँग समन्वय गर्नुपर्नेछ। एकपटकको भिजिटको लागि १५०० रुपैयाँ शुल्क तोकिएको छ भने, विपन्न वर्गका बिरामीहरूलाई निःशुल्क सेवा दिने व्यवस्था पनि गरिएको छ।
हाललाई यो सेवा धरान उपमहानगरपालिकाभित्र मात्र सीमित गरिएको छ।
सेवामा प्रशिक्षित नर्स र डाक्टरहरू लेभेटी, लक्षण व्यवस्थापन, उपशामक सहायता, भावनात्मक र आध्यात्मिक परामर्श, तथा पारिवारिक परामर्श जस्ता सेवा प्रदान गर्नेछन्।
डा. कुमारले भने, “क्यान्सरको गम्भीर अवस्थाका बिरामीहरूलाई मानसिक र शारीरिक रूपमा राहत दिने उद्देश्यले यस्तो सेवा सुरु गरिएको हो।”