
प्रधानमन्त्री केपी शर्मा ओलीले अब नेपालले विदेशबाट फलाम र स्टिल आयात गर्नुपर्ने दिन सकिन लागेको बताएका छन्। शुक्रबार ललितपुरको ग्वार्को ओभरपास उद्घाटन कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले नवलपरासी पूर्वस्थित धौवादी फलामखानीबाट नेपाललाई आगामी सय वर्ष पुग्ने फलाम र स्टिल उत्पादन हुने दाबी गरे।
प्रधानमन्त्री ओलीले भने, “हामी धौवादी फलाम कारखाना अघि बढाउँदैछौं। कारखाना सञ्चालनमा आएपछि फलाम, स्टिल लगायतका उद्योग नेपालमै स्थापना हुनेछ। यसले मुलुकको अर्थतन्त्रमा ठूलो योगदान दिनेछ, ठूलो मात्रामा वैदेशिक मुद्रा बचत हुनेछ र हजारौं नेपालीले रोजगारी पाउनेछन्।”
उनका अनुसार खानी सञ्चालनबाट अन्य खनिज पदार्थको उत्खननसमेत अघि बढ्नेछ।
फलाम उत्पादनको उच्च सम्भावना
खनिज तथा भूगर्भ विभागका विज्ञहरूले २०६९ देखि २०७५ सालसम्मको अनुसन्धानबाट धौवादीमा उच्चस्तरीय फलाम रहेको पुष्टि गरेका थिए। त्यसपछि २०७६ असोजमा धौवादी फलामखानी कम्पनी लिमिटेड गठन गरेर औपचारिक काम थालिएको थियो।
कम्पनीको अध्ययनअनुसार, नेपालले हाल वर्षेनी २७ लाख टन फलामजन्य वस्तु आयात गर्दै आएको छ। धौवादी खानी ४१ वर्ग किलोमिटर क्षेत्रमा फैलिएको छ, जहाँ विशेष सम्भाव्यता अध्ययन अनुसार दैनिक १,५०० टन फलाम उत्पादन गर्न सकिने छ।
यदि उत्पादन सुरु भयो भने, अहिलेको आयातको करिब २५ प्रतिशतसम्म घटाउन सकिने कम्पनीको निष्कर्ष छ।