
इरानले स्पष्ट रूपमा चेतावनी दिएको छ कि इजरायलबाट आक्रमण जारी रहँदा आफू परमाणु कार्यक्रमसम्बन्धी कुनै पनि वार्तामा सहभागी हुँदैन।
इरानी विदेशमन्त्री अब्बास अरागचीले भने, “जबसम्म इजरायलले आक्रमण बन्द गर्दैन, हामी कुनै पनि प्रकारको परमाणु वार्ता सुरु गर्न सक्दैनौं।”
उनले इरानको परमाणु कार्यक्रम पूर्ण रूपमा शान्तिपूर्ण उद्देश्यका लागि रहेको दाबी गर्दै इजरायलको आक्रमणलाई अन्तर्राष्ट्रिय कानुनको उल्लंघन भनेका छन्। “हाम्रो राष्ट्रिय सुरक्षामा कुनै सम्झौता हुने छैन,” उनले थपे।
यसैबीच, इजरायली सेनाका प्रमुख इयाल जमीले एक भिडियो सन्देश जारी गर्दै देशले लामो संघर्षको लागि तयार रहनुपर्ने बताएका छन्। उनले निकट भविष्य अझ कठिन हुने उल्लेख गरे।
अरागचीले यो अभिव्यक्ति युरोपियन नेताहरूसँग जेनेभामा भएको भेटपछि दिएका हुन्। भेटमा युरोपियन नेताहरूले इरानलाई अमेरिकासँग परमाणु वार्तामा फर्कन अनुरोध गरेका थिए। तर इरानले इजरायली आक्रमण रोकिएपछि मात्र वार्ता सुरु हुने स्पष्ट पारेको छ।
इजरायली सेनाले हालै इरानको मिसाइल क्षेत्रमा ठूलो आक्रमण गरेको दाबी गरेको छ, जसले दुई देशबीचको तनावलाई झन चर्काएको छ।