
पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नवलपरासी पूर्वको दुम्किवास–दाउन्ने सडक खण्डमा ठूला र भारी सवारी साधन सञ्चालनमा अस्थायी रोक लगाइएको छ।
सडक चिप्लो हुनु र निर्माणाधीन विनयी खोला पुलको डाइभर्सन सडक वर्षातका कारण बारम्बार बग्ने समस्याले गर्दा यो निर्णय गरिएको हो।
पूर्वी नवलपरासीका प्रमुख जिल्ला अधिकारी भविश्वर पाण्डेका अनुसार, नयाँ पुल सञ्चालनमा नआएसम्म मालबाहक ट्रक तथा ठूला सवारी साधनलाई रोक लगाइएको हो।
हाल दाउन्ने खण्डका केही स्थानमा ग्राभेल हालेर सडक मर्मतको काम भइरहेकाे छ। सडक विभाग र जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै हरेक साँझ ७ बजेदेखि बिहान ५ बजेसम्म सम्पूर्ण सवारी साधन (खासगरी ठूला मालबाहक) सञ्चालनमा प्रतिबन्ध लगाइएको जनाएको छ।
प्रशासनले यात्रु र सवारी चालकहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध गरेको छ। यो अस्थायी व्यवस्था सडक सुधार नहुन्जेलसम्म लागु हुनेछ।