Join our Channel

रास्वपाको विरोध र राप्रपाको बहिस्कारबीच संसदमा १० मन्त्रालयको बजेटमाथि छलफल

रास्वपाको विरोध र राप्रपाको बहिस्कारबीच संसदमा १० मन्त्रालयको बजेटमाथि छलफल

प्रतिपक्षी दलहरूको कडा विरोधका बीच आजको प्रतिनिधिसभा बैठकमा विनियोजन विधेयक, २०८२ अन्तर्गत १० वटा मन्त्रालयको बजेटमाथिको समूहगत छलफल सुरु भएको छ।

बैठक सुरु भएलगत्तै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसदहरू आसनबाट उठेर विरोध जनाए। सभामुख देवराज घिमिरेले बोल्न अनुमति दिएपछि रास्वपाकी सांसद सुमना श्रेष्ठले ‘भिजिट भिसा’ प्रकरणको निष्पक्ष छानबिन नभएसम्म विरोध जारी रहने बताइन्।

उनले भनिन्, “सरकारले न उच्चस्तरीय छानबिन समिति बनायो, न संसदीय छानबिन समिति। सरकारले जनताको आवाज नसुनेको अवस्थामा सरकार कसका लागि? शक्तिशालीका लागि मात्र?”

त्यसपछि सभामुखले बैठकलाई नियमित कार्यसूचीमा लैजाने घोषणा गरे। यसपछि राप्रपाका सांसदहरूले पनि विरोध जारी राख्दै बोले। राप्रपाकी सांसद रोशन कार्कीले भिजिट भिसाको विषयमा आवाज उठाउँदा सरकारले बेवास्ता गरेको आरोप लगाइन्। उनले गृहमन्त्रीको राजीनामा र छानबिन समिति गठन नभएसम्म राप्रपाको विरोध जारी रहने स्पष्ट पारिन्।

विरोधको क्रममा सत्ता पक्षका सांसदहरूले प्रतिपक्षी दलहरूले सदनको मर्यादा उल्लंघन गर्दै अनावश्यक आरोप लगाएको भन्दै प्रतिवाद गरेका थिए। सभामुखको बारम्बार आग्रहपछि पनि विपक्षी सांसदले आसन ग्रहण नगरेपछि बैठक नियमित कार्यसूचीमा प्रवेश गरेको थियो। त्यसपछि राप्रपाका सांसदहरूले बैठक बहिस्कार गरेका हुन्।

बैठकमा संघीय मामिला तथा सामान्य प्रशासन, ऊर्जा, जलस्रोत तथा सिँचाइ, रक्षा, स्वास्थ्य तथा जनसंख्या, खानेपानी, शिक्षा, विज्ञान तथा प्रविधि, परराष्ट्र, श्रम, रोजगार तथा सामाजिक सुरक्षा, गृह तथा सञ्चार मन्त्रालयको बजेटमाथि छलफल हुने जनाइएको छ।

Leave a comment