
सर्लाहीको बरहथवा नगरपालिका–४ खैराटोलमा शनिबार बिहान सडक विस्तारको विषयलाई लिएर उत्पन्न विवादले हिंसात्मक रुप लिँदा प्रहरीले गोली चलाउनुपरेको छ। झडपमा इलाका प्रहरी कार्यालय बरहथवाका प्रहरी निरीक्षकसहित पाँच जना घाइते भएका छन्।
घटनास्थलमा दोहोरो पक्षबीचको झडप नियन्त्रण गर्न प्रहरीले हवाई फायर गर्नुपरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ। प्रहरी निरीक्षक दीवाकर गणेशको हातमा चोट लागेको छ भने अन्य घाइते सर्वसाधारणको बरहथवास्थित सरकारी अस्पतालमा उपचार भइरहेको छ।
प्रहरी निरीक्षक बालिष्टर सिंहका अनुसार स्थिति अहिले नियन्त्रणमा छ र थप अप्रिय घटना हुन नदिन नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बलको ठूलो संख्या घटनास्थलमा तैनाथ गरिएको छ।
प्रहरीको भनाइअनुसार सडक विस्तारकै क्रममा उत्पन्न विवादले झडपको रुप लिएको थियो। अहिले अवस्था सामान्य बन्दै गएको जानकारी गराइएको छ।