
बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले आर्थिक वर्ष २०८२/८३ को बजेटमा यदि कुनै महत्वपूर्ण योजना छुटेको भए त्यसलाई आवश्यकता र प्राथमिकताको आधारमा समावेश गरिने स्पष्ट पारेका छन्।
शनिबार काठमाडाैं विश्वविद्यालय, धुलिखेलमा आयोजित नेपाल रेडक्रस सोसाइटी बागमती प्रदेशको छैठौं प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस शिविरलाई सम्बोधन गर्दै मुख्यमन्त्री लामाले भने, “प्रदेशमा झन्डै १९ हजार योजना प्रस्ताव आएका थिए। तिनीहरूलाई घटाएर १२ हजारमा सीमित गर्ने प्रयास गरियो, तर सम्भव भएन। मागहरू असीमित छन् र सबैलाई एकैपटक बजेटमा समेट्न सकिन्न।“
उनका अनुसार, “विपद् व्यवस्थापन शीर्षक अन्तर्गतका केही महत्वपूर्ण योजना छुट्न सक्छन्, तर ती योजना आवश्यकता र प्राथमिकता अनुसार आगामी चरणमा समावेश गरिनेछ।”
मुख्यमन्त्री लामाले विकास योजनाको कार्यान्वयनका लागि पूर्ण अध्ययनसहितको मास्टर प्लान तयार गरेर मात्र अगाडि बढ्दा प्रभावकारी परिणाम आउन सक्ने धारणा व्यक्त गरे।
प्रदेश सरकारले विपद् व्यवस्थापनलाई प्रमुख प्राथमिकतामा राखेको बताउँदै उनले गत वर्षको असोज दोस्रो सातामा आएको बाढी, पहिरो लगायतका घटनामा रेडक्रसको योगदान अत्यन्त प्रशंसनीय रहेको उल्लेख गरे। “युवाहरुको सहभागिता र सक्रियता प्रदेशको बल हो,” उनले थपे।