
सोलु दुधकुण्ड नगरपालिका–११, तिङ्लामा करेन्ट लागेर एक विद्युत् प्राविधिकको मृत्यु भएको छ।
विद्युत् ट्रान्सफर्मर मर्मतको क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका ३५ वर्षीय रबिन बस्नेतको फाप्लु अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका डिएसपी मनोजित कुँवरले जानकारी दिएका छन्।
बस्नेत सोलु दुधकुण्ड नगरपालिका–७, भित्ताखर्कका स्थायी बासिन्दा हुन्। शनिबार दिउँसो करिब १ बजे ट्रान्सफर्मर मर्मतका क्रममा करेन्ट लागेर घाइते भएका उनलाई तत्कालै जिल्ला अस्पताल फाप्लु लगिएको थियो। तर, चिकित्सकको प्रयासका बाबजुद उनको अपराह्न मृत्यु भएको हो।
प्राप्त जानकारीअनुसार बस्नेत ‘गरुढ सेक्युरिटी सर्भिस’मार्फत विद्युत् प्राविधिकको रुपमा कार्यरत थिए।
सोलुखुम्बु जस्तो दुर्गम क्षेत्रमा प्राविधिक सुरक्षाको कमी तथा जोखिमपूर्ण कार्यस्थल व्यवस्थापनको अभाव अझै पनि गम्भीर चुनौतीको रुपमा देखिएको छ। यस घटनाले प्राविधिक सुरक्षामा थप ध्यान दिनुपर्ने आवश्यकता देखिएको छ।