
महेन्द्रराजमार्ग अन्तर्गत नवलपरासीको दुम्कीबासस्थित विनयी खोलामा अब डाइभर्सन नबनाइने भएको छ। बाढीले बगाएको अस्थायी डाइभर्सनको सट्टा, हालै ढलान गरिएको नयाँ पक्की पुलबाट छिट्टै सवारी सञ्चालन गरिने तयारी भइरहेको छ।
सडक डिभिजन भरतपुरका प्रमुख नारायण लामिछानेका अनुसार, “नयाँ पुलको भारवहन क्षमता परीक्षणपछि चाँडै त्यहीँबाट सवारी सञ्चालन गर्ने निर्णय भएको हो।” उनका अनुसार, गत मंगलबार बाढीले अस्थायी डाइभर्सन बगाएपछि पुनः निर्माण कार्य सुरु गरिएको छैन।
शनिबारदेखि डाइभर्सनमा प्रयोग गरिएका ह्युम पाइपहरू हटाउने काम सुरु गरिएको छ। प्रमुख लामिछानेले भने, “पाइपहरू सरकारी सम्पत्ति भएकाले अन्यत्र उपयोग गर्न सकिन्छ, त्यसैले निकालिएको हो।”
दाउन्ने सडक खण्ड पाँच दिनदेखि अवरुद्ध
डाइभर्सन बगेपछि दाउन्ने सडक खण्ड पाँच दिनदेखि अवरुद्ध हुँदा सयौं सवारी साधन दुम्कीबास र बर्दघाटमा रोकिएका छन्। हाल सवारीसाधनलाई मुग्लिन–पोखरा र रामपुर हुँदै कालीगण्डकी करिडोर प्रयोग गरेर वैकल्पिक मार्गबाट चलाइएको छ।
शनिबारदेखि विश्वकर्मा मन्दिर नजिकका खाल्डाहरू ग्राभेल हालेर पूर्ति गर्न थालिएको छ। बुटवल–नारायणगढ सडक निर्माण गरिरहेको चिनियाँ ठेकेदार कम्पनीले ग्राभेल हाल्न थालेको हो।
मौसम अनुकूल रहेमा दुई दिनभित्र दाउन्ने सडक सञ्चालनमा आउने सम्भावना रहेको अधिकारीहरूले बताएका छन्।