Join our Channel

कुलपानी हरित उद्यान: आन्तरिक पर्यटकको नयाँ रोजाइ

कुलपानी हरित उद्यान: आन्तरिक पर्यटकको नयाँ रोजाइ

गढवा गाउँपालिका–१, बडहरामा रहेको कुलपानी हरित उद्यान (कुलपानी ग्रीन पार्क) पछिल्लो समय आन्तरिक पर्यटनको लोकप्रिय गन्तव्य बन्दै गएको छ। सिमसार संरक्षण, हरियाली विस्तार र प्राकृतिक सौन्दर्यसहितको यो पार्कमा दैनिक सयौं पर्यटक आकर्षित भइरहेका छन्।

कुलपानी सामुदायिक वन समूहले जलासय, भ्यूटावर र काठका मूर्तिहरू निर्माण गरेपछि यहाँको दृश्यावली थप आकर्षक बनेको हो। पार्कभित्र बाघ, गैँडा, जरायो, मयुर, घोडालगायत वन्यजन्तुहरूको मूर्ति, पोखरीमाथिको काठको पुल, र भ्यू टावरले घुम्न आउनेको संख्या दिनप्रतिदिन बढाएको छ।

वन समूहका अध्यक्ष नवराज शर्माका अनुसार, पार्क प्रवेशका लागि २० देखि ३० रुपैयाँ सम्म लिने गरिन्छ। पर्यटन प्रवर्द्धनबाट हुने आम्दानीका आधारमा हाल १२ हेक्टरमा फैलिएको पार्कलाई २० हेक्टर सम्म विस्तार गर्ने योजना समेत अघि सारिएको छ।

सांस्कृतिक तथा काठ सङ्ग्रहालयको तयारी

पर्यटनसँगै लोप हुँदै गएका परम्परागत काठका सामग्री जस्तै ढिकी, कोल, हलो, जुवा, ठेकी, लडिया, डुङ्गा आदिको संरक्षणका लागि काठ सङ्ग्रहालय निर्माणको तयारी पनि भइरहेको अध्यक्ष शर्माले जानकारी दिए। तर, उपयुक्त स्थानको अभावका कारण सङ्ग्रहालय अझै सञ्चालनमा ल्याउन नसकिएको उनले बताए।

धार्मिक र पारिवारिक गन्तव्यका रूपमा विकास

शर्माका अनुसार कुलपानीलाई धार्मिक, सिमसार र पारिवारिक वनभोज गन्तव्यका रूपमा बहुआयामिक रूपमा विकास गर्ने प्रयास भइरहेको छ। जलविहार, डुङ्गा सयर, फोटो–भिडियो सुटिङका लागि समेत उपयुक्त यो स्थलले पर्यटन विकाससँगै आम्दानीको स्रोत पनि विस्तार गरिरहेको छ।

स्थानीय बासिन्दा सीता गिरीका अनुसार, गर्मीयाममा जंगलको चिसो वातावरण र रमणीय दृश्य हेर्न धेरै जना आउने गर्छन्। विशेष गरी शनिबार र बिदाका दिन यो पार्क पर्यटकले भरिने गरेको उनी बताउँछिन्। यद्यपि, लगानी अभावका कारण बाल उद्यान निर्माण, पशुपंक्षीको तारबार र खोर बनाउन नसकिएको उनले बताइन्।

Leave a comment